लाहौर, २१ जेठ । पाकिस्तानको लाहोर उच्च अदालतले २०२० को मोटरवे सामूहिक बलात्कार मुद्दामा दोषी ठहरिएका दुई जना पुरुषहरूको मृत्युदण्डको सजायलाई कायम राखेको छ।
ती पुरुषहरूले एक फ्रान्सेली पर्यटकलाई उनको कारबाट तानेर बाहिर निकाले अनि उनका तीन बच्चाहरूको अगाडि बन्दुकको नोकमा सामूहिक बलात्कार गरेका थिए ।
मार्च २०२१ मा आतंकवाद विरोधी अदालतले सामूहिक बलात्कार, अपहरण, डकैती र आतंकवाद सम्बन्धी आरोपमा दोषी ठहर गर्दै दुई जना पुरुषहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो। दुवै अभियुक्तहरूले पछि लाहोर उच्च अदालतमा फैसला विरुद्ध अपील गरेका थिए ।
तर, लाहोर उच्च अदालतले भने दोषी ठहरिएका व्यक्ति आबिद अली र शफकत अलीको पुनरावेदन खारेज गरिदिएको छ ।
यो घटना सेप्टेम्बर २०२० मा सियालकोट–लाहोर मोटर वेमा भएको थियो। फ्रान्सेली मूलकी ती महिला आफ्ना तीन बच्चाहरूसँग यात्रा गरिरहेकी थिइन्, जब उनको कारमा इन्धन सकियो। अनुसन्धानका अनुसार महिला कार भित्र मद्दतको लागि पर्खिरहेकी थिइन् ।
तब आरोपीहरूले झ्याल फोडेर उनलाई बाहिर तानेका थिए र उनका बच्चाहरूको अगाडि बन्दुकको नोकमा सामूहिक बलात्कार गरेका थिए। साथै, उनीहरूले नगद, गरगहना र बैंक कार्डहरू पनि लुटेका थिए, जसको उजुरी पछि उनीहरूलाई मृत्युदण्डको सजायँ सुनाइएको हो ।
