काठमाडौँ । संयुक्त राज्य अमेरिकाले केही भिसा आवेदकहरूका लागि नयाँ ‘भिसा बन्ड पाइलट कार्यक्रम’ लागू गर्ने घोषणा गरेको छ। अमेरिकी दूतावासका अनुसार यो कार्यक्रम निश्चित मापदण्ड पूरा गरेका योग्य आवेदकहरूमा लागू हुनेछ।
कार्यक्रम कसरी लागू हुन्छ ?
भिसा अन्तर्वार्ता सफलतापूर्वक सम्पन्न भएपछि योग्य ठहरिएका आवेदकलाई कन्सुलर अधिकारीले बन्ड (धरौटी) रकम भुक्तानी गर्न आवश्यक निर्देशन र भुक्तानी लिङ्क उपलब्ध गराउनेछन्। आवेदकले तोकिएको बन्ड रकम ३० दिनभित्र भुक्तानी गरिसक्नुपर्नेछ।
बन्ड रकम भुक्तानी गरेपछि आवेदकले अधिकतम तीन महिनासम्म मान्य रहने एकल–प्रवेश (Single Entry) भिसा प्राप्त गर्नेछन्। यस भिसाअन्तर्गत यात्रुहरूले संयुक्त राज्य अमेरिकामा व्यावसायिक हवाई प्रवेश नाकामार्फत मात्र प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएपछि भिसाका सबै सर्तहरू पालना गरिएको पुष्टि भएमा धरौटी रकम फिर्ता गरिनेछ। यसमा अमेरिकामा अवैध रूपमा काम नगरेको र तोकिएको समयभित्र देश छाडेको हुनुपर्ने प्रमुख सर्तहरू समावेश छन्।
अमेरिकी दूतावासका अनुसार यो कार्यक्रमले भिसा प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र नियमपालनामुखी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यस कार्यक्रमसम्बन्धी विस्तृत जानकारीका लागि अमेरिकी दूतावासको आधिकारिक वेबसाइट वा सम्बन्धित कन्सुलर विभागमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।
