• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

तेलको मूल्यमा भारी गिरावट


  • धनकुटा खबर
  • .

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्यमा उल्लेख्य गिरावट आएको छ। मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इरानबीचको तनावका कारण प्रतिब्यारेल १२० डलरसम्म पुगेको कच्चा तेलको मूल्य हाल घट्दै प्रतिब्यारेल ७० डलर आसपास ओर्लिएको छ।

पछिल्लो बजार विवरण अनुसार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७०.६० डलर, डब्लुटिआई क्रुड ६७ डलर र मर्भन क्रुड ६५ डलर आसपासमा कारोबार भइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतापछि तेलको मूल्यमा भारी गिरावट आउने भनी गरेको प्रक्षेपण र वित्तीय विश्लेषक संस्था ‘एमके ग्लोबल’ ले सन् २०२७ का लागि गरेको अनुमान समय अगावै सत्य सावित भएको छ।

विश्वको २० प्रतिशत तेल आपूर्ति हुने रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा सुचारु भइनसके तापनि भविष्यको सहज आपूर्तिको सम्भावनालाई हेर्दै बजारमा तेलको मूल्य तीव्र गतिमा घटेको हो।

इरान र अमेरिकाबीच जुन महिनामा भएको १४ बुँदे शान्ति प्रस्ताव पश्चात् कतारको दोहामा भइरहेको सकारात्मक द्विपक्षीय वार्ताले बजारको भू-राजनीतिक जोखिम (रिस्क प्रिमियम) कम गरिदिएको छ।

यसका साथै ओपेक प्लस राष्ट्रहरूद्वारा उत्पादनमा गरिएको वृद्धि, साउदी अरब र युएईको आपूर्ति क्षमतामा बलियो उपस्थिति तथा विभिन्न मुलुकहरूले आफ्नो रणनीतिक तेल भण्डारण बढाएका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा मन्दी आएको हो।

तेलको मूल्यमा आएको यस गिरावटले नेपाल र भारत लगायतका दक्षिण एसियाली मुलुकहरूलाई पेट्रोलियम पदार्थको महँगीबाट ठूलो राहत मिल्ने आकलन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖