• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

किन बढ्यो तेलको भाउ ? कतिमा भइरहेको छ कारोबार ?


  • धनकुटा खबर
  • .

न्यूयोर्क । विश्व बजारमा मंगलबार कच्चा तेलको भाउ बढेको छ। यद्यपि, पश्चिम एसियामा भूराजनीतिक तनाव केही कम हुँदै गएपछि बजारको ध्यान तेलको आपूर्ति वृद्धि र मागको अवस्थातर्फ मोडिँदा कच्चा तेलको मूल्य सामान्य रूपमा बढेको हो।

मंगलबार लन्डनस्थित आईसीई एक्सचेन्जमा ब्रेन्ट क्रुडको भाउ प्रतिव्यारेल ३८ सेन्ट अर्थात् ०.५ प्रतिशतले बढेर ७२ डलर ३७ सेन्ट पुगेको हो। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) कच्चा तेलको मूल्य ३० सेन्ट अर्थात् ०.४ प्रतिशतले बढेर ६८ डलर ८५ सेन्ट प्रतिव्यारेल पुगेको छ। दुवै सूचक सोमबार इरान–अमेरिका युद्धअघिको मूल्यस्तर नजिक पुगेका थिए।

केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले आपूर्ति पुनःस्थापनाको प्रक्रिया सुरु भएसँगै तत्कालका लागि भूराजनीतिक जोखिम कम भएको बताए। उनले भने, “बजारले अहिले सकारात्मक आपूर्ति समाचारलाई धेरै हदसम्म मूल्यमा समावेश गरिसकेको छ। अब तेलको मूल्यको आगामी दिशा विशेषगरी चीनबाट आउने वास्तविक मागमा निर्भर हुनेछ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिका र इरानबीच सम्झौता हुने वा आवश्यक परे सैन्य कारबाही गरिने चेतावनी दोहोर्याएका थिए। उता इरानले आफ्ना पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिपछि पनि चुनौतीपूर्ण अभिव्यक्ति दिइरहेको छ। लगानीकर्ताहरूले विशेषगरी स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाज आवागमन र खाडी क्षेत्रबाट तेल निर्यात सामान्य अवस्थामा फर्किने प्रक्रियालाई नजिकबाट नियालिरहेका छन्।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार सोमबार राति इरानको रिभोल्युसनरी गार्ड्सले स्ट्रेट अफ होर्मुज हुँदै गइरहेका व्यावसायिक जहाजहरूतर्फ कम्तीमा दुईवटा मिसाइल प्रहार गरेको थियो। घटनामा जहाजहरूमा ठूलो क्षति पुगे पनि कुनै मानवीय क्षति भएको छैन।

जहाजको तथ्यांकअनुसार साउदी अरेबियाको कच्चा तेल बोकेका जापानी स्वामित्वका सुपरट्यांकरहरू मंगलबार स्ट्रेट अफ होर्मुज हुँदै खाडी क्षेत्रबाट बाहिरिन थालेका छन्। यसअघि रोकिएका केही जहाज पनि सोमबारदेखि पुनः सञ्चालनमा आएका थिए।

तर एएनजेड बैंकका विश्लेषकहरूले तेल ढुवानी अपेक्षाअनुसार छिटो सामान्य हुन नसकेको बताएका छन्। उनीहरूका अनुसार स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने ट्यांकरको संख्या अझै पनि कम छ र ढुवानी पूर्ण रूपमा पुनःस्थापित भएको संकेत देखिएको छैन। अमेरिका–इरानबीच अस्थायी सहमति भए पनि ढुवानी कम्पनीहरू अझै सतर्क रहेकाले तेल निर्यात पूर्ण रूपमा सामान्य हुन समय लाग्ने देखिएको छ।

यसैबीच, संयुक्त अरब इमिरेट्सले जुन महिनामा दैनिक ३८ लाख ब्यारेलभन्दा बढी कच्चा तेल उत्पादन गरेको छ। यो अप्रिल २०२० यताकै उच्च उत्पादन हो। त्यस्तै, पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) र समूहबाहिरका प्रमुख तेल उत्पादकहरूको समूह ओपेक प्लसले आइतबार अगस्ट महिनादेखि दैनिक १ लाख ८८ हजार ब्यारेल थप उत्पादन गर्ने निर्णय गरेको छ। यसअघि जुन र जुलाई महिनामा पनि यस्तै परिमाणमा उत्पादन बढाइएको थियो।

उता साउदी अरबले एसियाली बजारका लागि आफ्नो प्रमुख अरब लाइट कच्चा तेलको अगस्ट बिक्री मूल्य प्रतिव्यारेल १ डलर ५० सेन्टले घटाएको छ। यो पछिल्ला दुई दशकयताकै सबैभन्दा ठूलो मासिक मूल्य कटौती भएको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖