रियाद — यमनको सशस्त्र समूह हुथीले साउदी अरबलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको दाबी गरेको छ। हुथीले आफ्नो नियन्त्रणमा रहेको सना अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको आरोप लगाउँदै प्रतिआक्रमण गरेको जनाएको हो।
साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ताका अनुसार हुथीले दक्षिणी साउदी क्षेत्रतर्फ प्रहार गरेका मिसाइलहरू साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै अवरोध गरी नष्ट गरेको छ। आक्रमणबाट कुनै ठूलो क्षति भएको विवरण भने सार्वजनिक गरिएको छैन।
हुथी समूहका सैन्य प्रवक्ता याह्या सारीले साउदी अरबको अब्हा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी मिसाइल प्रहार गरिएको बताएका छन्। यमनसँग सीमा जोडिएको दक्षिणी पहाडी क्षेत्रमा रहेको अब्हा रणनीतिक दृष्टिले महत्वपूर्ण सहर मानिन्छ।
सन् २०२२ को मार्चमा अनौपचारिक युद्धविराम लागू भएपछि हुथीले साउदी अरबमाथि प्रत्यक्ष मिसाइल आक्रमण गरेको यो पहिलो दाबी गरिएको घटना हो। युद्धविरामअघि भने हुथी समूहले साउदी अरबका ऊर्जा पूर्वाधार तथा अन्य महत्वपूर्ण संरचनामाथि पटक–पटक ड्रोन र मिसाइल आक्रमण गर्दै आएको थियो।
सोमबार भएको यो घटनाले चार वर्षदेखि तुलनात्मक रूपमा शान्त रहेको साउदी–यमन सीमाक्षेत्रमा पुनः तनाव बढ्न सक्ने संकेत दिएको विश्लेषण गरिएको छ। अमेरिका–इरानबीच बढेको तनावका बीच यसअघि क्षेत्रीय युद्धविरामले अवस्था केही सहज बने पनि पछिल्लो घटनाले द्वन्द्व फेरि चर्किने सम्भावना बढाएको छ।
विश्लेषकहरूका अनुसार यदि हुथी–साउदी द्वन्द्व पुनः तीव्र बनेमा लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री ढुवानी तथा साउदी अरबको तेल आपूर्तिमा समेत असर पर्न सक्ने जोखिम रहेको छ।
