काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका आरोहीहरूको खोजी तथा उद्धार अभियानका क्रममा शुक्रबार चार जनाको शव फेला परेको छ।
पाकिस्तानी सञ्चारमाध्यम डन का अनुसार फेला परेका चार शवमध्ये दुई जनाको पहिचान भएको छ। पहिचान हुनेमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङ रहेका छन्।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार हिमपहिरोमा परेको १० सदस्यीय टोलीमा छ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही सहभागी थिए।
अल्पाइन क्लबका महासचिव अयाज शिग्रीले विभिन्न आरोहण टोलीले संयुक्त रूपमा चुचुरोतर्फ आरोहण सुरु गरेका बेला हिमपहिरो गएको बताएका छन्।
उनका अनुसार सम्पर्कविहीन केही आरोहीबाट प्राप्त जीपीएस संकेतले हिमपहिरोले उनीहरूलाई करिब एक हजार मिटर तलसम्म बगाएको र त्यसपछि उनीहरू फसेको देखाएको थियो।
बेपत्ता रहेका अन्य आरोहीहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ। मौसम र भौगोलिक चुनौतीका बीच उद्धार टोलीले हेलिकप्टर तथा स्थलमार्गबाट खोजी अभियान सञ्चालन गरिरहेको जनाइएको छ।
