• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

निर्मल पुर्जासँगै हराएका युक्ता र किलि पनि हुन किर्तिमानी आरोही


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ साउन। पाकिस्तानको ब्रोड पिट हिमालमा हराइरहेका पर्वतारोहीहरूमा निर्मल पुर्जाका साथै अन्य केही चर्चित र किर्तिमानी आरोहीहरू पनि समावेश रहेका छन । 

 

जसमा ‘युक्ता’ उपनामले चिनिने किर्तिमानी आरोही पुर्बहादुर गुरुङ र किली पेम्बा शेर्पा समावेश रहेका छन्।

 

युक्ता ‘इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइड्स एसोसिएसन’बाट प्रमाणित गाइड हुन्। उनी १४ चुचुराको चुनौती पूरा गर्ने नजिक पुगेका आरोही हुन, चुनौतीअन्तर्गत पर्वतारोहीहरूले समुद्र सतहबाट कम्तीमा ८,००० मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको सफल आरोहण गर्ने प्रयासमा रहेको बीवीसीले जनाएको छ।

 

गत वसन्त ऋतुमा मात्रै युक्ताले नेपालका तीनवटा  ८,००० मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गरेका थिए। सोही सिजनको अन्त्यसम्ममा उनको नाममा सगरमाथाको १० पटकको सफल आरोहण र ८,००० मिटरभन्दा अग्ला १२ वटा हिमालको आरोहणको कीर्तिमान कायम भइसकेको थियो, जो अहिले बेपत्ता भएका छन ।

उनी ‘एसी इर्विन’ लेखिएको एक शताब्दी पुरानो जुत्ता फेला पार्ने टोलीका सदस्य पनि थिए। उक्त जुत्ता बेलायती पर्वतारोही एन्ड्रयु स्यान्डी इर्विनको भएको विश्वास गरिन्छ, जो सन् १९२४ मा जर्ज म्यालोरीसँगै सगरमाथामा बेपत्ता भएका थिए।

 

उता, किली पेम्बाले हालसम्म १५ पटक सगरमाथाको सफल आरोहण गरिसकेको रेकर्ड बनाएका छन्। सन् २०२१ मा उनी निर्मल पुर्जासहितका धेरै नेपाली पर्वतारोहीहरूसँगै ऐतिहासिक ‘के २’ हिउँदे आरोहण दलका सदस्य थिए।

 

किली पेम्बा तिनै गाइड हुन्, जसले सन् २०१८ मा दुवै खुट्टा गुमाएका सिया बोयुलाई सगरमाथाको शिखरसम्म पुग्न नेतृत्व गरेका थिए। चिनियाँ पर्वतारोही सियाले दशकौं अघि सगरमाथाको शिखरमा पुग्ने प्रयासका क्रममा आफ्ना दुवै खुट्टा गुमाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖