काठमाडौं, १६ साउन । चौतर्फी बिरोधको सामाना गर्नु परे पछि अध्यक्ष जियानी इन्फान्टिनोले फुटबलको सबैभन्दा ठुलो संस्था फिफामा नीजि लगानीकर्ता भित्रयाउने आफ्नो योजनावाट पछि हटेका छन ।
युरोप, एसिया, दक्षिण अमेरिका, क्यारेबियन मुलुकका फिफा सदस्य देशले व्यापक विरोध जनाए पछि आफ्नो संस्थाका प्रमुख प्रतियोगिताहरूको स्वामित्वको हिस्सा बिक्री गर्ने बिवादास्पद योजना रद्द गरेको उनले बताएका हुन ।
इन्फान्टिनोले भने कि यो परियोजनाले फुटबल इतिहासमा सबैभन्दा ठुलो विभाजन सिर्जना गरेको र संस्थाको मूल उद्देश्यको हितमा नरहेको पनि उनले जनाउँदै आफु उक्त निर्णय अगाडी नबढाउने अवस्थामा पुगेको पनि जनाएका छन । उनले भने, ‘फलस्वरूप, यो प्रस्ताव अघि बढाइने छैन।’
खासमा फिफा प्रमुख इन्फान्टिनोले पुरुष तथा महिला विश्वकप लगायतका प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने प्रस्तावलाई समर्थन गरेमा सबै २११ सदस्य राष्ट्रहरूलाई ४ करोड अमेरिकन डलर दिने प्रस्ताव अघि सार्दै फिफाको २० प्रतिशत सेयर नीजि लगानीकर्तालाई दिने प्रस्ताव अघि सारेका थिए ।
फिफा अध्यक्षको योजनाअनुसार ‘एफएफई’ ले विश्वकप र अन्य प्रतियोगिताहरू सञ्चालन गर्न २० अर्ब डलरको सहायक कम्पनी खडा गर्नेछ र यसमा बाह्य लगानीकर्तालाई २० प्रतिशतसम्मको हिस्सेदारी दिइने छ। यसका लागि आवश्यक लगानी ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ जोशुआ कुशनरले उपलब्ध गराउने तयारी भएको थियो, जो औपचारिक सम्झौता मात्रै हुन बाँकी रहेको थियो ।
तर, सुरूमा नै युरोपेली फुटबलका ५५ सदस्यहरूले गत बिहीबार मतदान गर्दै यदि ती योजनाहरू अघि बढाइएमा विश्वकपको बहिष्कार गर्ने निर्णय नै गरे पछि अध्यक्ष इन्फान्टिनो सुरूमा नै दबाबमा परेका थिए, त्यसलगत्तै सो निर्णय प्रति असहमति जनाउँदै फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोरले राजिनामा दिएका थिए ।
त्यसमाथी विश्वव्यापी रणनीति र सुशासन सम्बन्धी इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले यसै विषयलाई लिएर राजीनामा दिए पछि इन्फान्टिनो थप बिबादको घेरामा परेका थिए । सल्लाहकार कार्लोसले त इन्फान्टिनोको फिफामा नीजी लगानीकर्ता भित्रयाउने प्रस्तावलाई फुटबलका लागि नराम्रो सम्झौता र फुटबलको भविष्य नै दाउमा राख्ने कदमको संज्ञासमेत दिएका थिए ।
अन्य दुई प्रमुख महासंघहरूले ती योजनाहरूको विरोधमा आवाज उठाए लगत्तै अरू पनि बिरोधमा उत्रिएका थिए । जसअनुसार उत्तर तथा मध्य अमेरिका र क्यारिबियन क्षेत्रमा फुटबलको नियमन गर्ने तथा यसै गर्मीमा विश्वकप आयोजना गरेको संस्था ‘कोन्काकाफ’ले आफ्ना सदस्यहरूले उक्त प्रस्ताव अस्वीकार गर्ने जनाएको थियो ।
र, एसियाली फुटबल महासंघ (एएफसी) ले युइएफए र कोन्काकाफको असहमतिमा ऐक्यबद्दता जनाउँदै इन्फान्टिनोको प्रस्तावलाई साथ नदिने स्पस्ट पारयो भने बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले इन्फान्टिनो फिफाको नेतृत्व गर्न अनुपयुक्त व्यक्ति भएको प्रारम्भिक टिप्पणी गरिसकेका छन् ।
जसका कारण मार्चमा हुने फिफा कंग्रेसमा अध्यक्षका रूपमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने प्रयास गरिरहेका ५६ वर्षीय इन्फान्टिनो अहिले ठूलो दबाबमा परेर आफ्नो योजनावाट शनिवार पछि हटेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
