इस्लामाबाद । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा अवस्थित विश्वको १२औँ अग्लो ब्रोड पिक (८,०४७ मिटर) मा गएको हिमपहिरोमा परी बेपत्ता भएका अन्तर्राष्ट्रिय आरोहण टोलीका सदस्यहरूको खोजी तथा उद्धार कार्य तीव्र बनाइएको छ।
पाकिस्तानी सञ्चारमाध्यम जियो न्युजका अनुसार हिमपहिरोमा परेका १० सदस्यीय अन्तर्राष्ट्रिय टोलीमध्ये हालसम्म आठ जनाको शव फेला परेको छ भने बाँकी दुई जनाको खोजी जारी छ।
ब्रोड पिक आधार शिविरबाट प्राप्त प्रारम्भिक विवरणले हिमपहिरोमा परेका सबै आरोहीको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरे पनि पाकिस्तानी अधिकारी तथा पाकिस्तान अल्पाइन क्लबले त्यसको औपचारिक पुष्टि गरेका छैनन्।
बिहीबार बिहान क्याम्प–३ नजिक करिब ६,६०० मिटर उचाइमा हिमपहिरो खस्दा आरोही टोली दुर्घटनामा परेको थियो। प्रतिकूल मौसमका कारण शुक्रबार रोकिएको उद्धार अभियान शनिबार बिहानदेखि पुनः सुरु गरिएको हो।
हालसम्म पहिचान भएका मृतकमध्ये ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, नेपालका पुरबहादुर गुरुङ (युक्त) र अमेरिकी म्यालोरी गीस रहेका छन्। अन्य शवहरूको पहिचान खुलाउने काम जारी रहेको जनाइएको छ।
उक्त आरोहण टोलीको नेतृत्व नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) ले गरेका थिए। हालसम्म फेला परेका शवमध्ये उनको शव नपरेको र उनीसहित दुई जना अझै बेपत्ता रहेको जियो न्युजले जनाएको छ। ४३ वर्षीय पुर्जाले केही दिनअघि सामाजिक सञ्जालमार्फत अक्सिजनबिना दोस्रो पटक विश्वका सबै १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने अभियान अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए।
टोलीमा नेपालका किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा, पाकिस्तानका सोहेल सखी तथा चीनका वाङ झोङ पनि सहभागी थिए।
बेपत्ता आरोहीहरूको खोजीका लागि नेपाली पर्वतारोही मिङ्मा ग्याबु शेर्पाको नेतृत्वमा तीन सदस्यीय नेपाली उद्धार टोली ब्रोड पिक आधार शिविर पुगिसकेको छ। बेलायतबाट पनि उद्धार टोली पाकिस्तान पुग्ने तयारीमा रहेको छ भने सरबाज खानको नेतृत्वमा स्थानीय उद्धार अभियान जारी छ।
उद्धार टोलीले ड्रोनबाट लिइएको दृश्यमा हिमालको माथिल्लो भागमा थप शव देखिएको जनाएको छ। तर निरन्तर हिमपात, खराब मौसम, थप हिमपहिरोको जोखिम र दुर्गम भूभागका कारण उद्धार कार्य अत्यन्तै कठिन बनेको छ। हाल पाकिस्तानी सेनाको हेलिकप्टर र जमिनमा खटिएका उद्धारकर्मीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरिरहेका छन्।
पाकिस्तान अल्पाइन क्लबकी नायला कियानीका अनुसार आरोहीहरूको जीपीएस ट्र्याकिङबाट प्राप्त तथ्यांकले उनीहरू पहाडको किनारबाट सयौँ मिटर तल खसेको संकेत गरेको छ। काराकोरम पर्वत शृंखलामा पर्ने ब्रोड पिक प्राविधिक रूपमा विश्वकै कठिन र जोखिमपूर्ण हिमालमध्ये एक मानिन्छ। यसको पहिलो सफल आरोहण सन् १९५७ मा अस्ट्रियाली टोलीले गरेको थियो।
