• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

चीनले बनायो आणविक हतियारको भुमिगत खाडल


  • धनकुटा खबर
  • .

बेइजिङ, १९ साउन । चीनले पहिलो पटक स्वीकार गरेको छ कि उसले हालैका वर्षहरूमा आणविक क्षेप्यास्त्रहरूका लागि ठूलो संख्यामा ‘साइलो’ अर्थात क्षेप्यास्त्र राख्ने भूमिगत संरचना निर्माण गरेको छ। यी साइलोहरू जमिनमुनि बनाइएका हुन्। चीनको सरकारी टेलिभिजन च्यानल ‘सीसीटीभी’मा प्रसारण गरिएको एक वृत्तचित्रमा यो जानकारी सार्वजनिक भएको हो।
 
चीनको आणविक हतियार भण्डारबारे अमेरिकाले गरेका दाबीहरू सत्य सावित भएका छन्। अमेरिकी पेन्टागनले यसअघि नै यस्तै दाबी गर्दै आएको थियो।
 
यस वृत्तचित्रमा पिपुल्स लिबरेशन आर्मी (पीएलए) रकेट फोर्सका इन्जिनियरिङ अधिकारी कुई दाओहुले आफ्नो टोलीले मिसाइल साइटहरू निर्माण गरेको बताए, जसलाई उनले चीनको रणनीतिक ‘ट्रम्प कार्ड’ भनेर वर्णन गरेका छन् ।
 
उनले भने, ‘हामी मिसाइलहरूको लागि घरहरू बनाउँछौं। साइलो जति चाँडो पूरा हुन्छ, त्यति नै चाँडो त्यहाँ मिसाइल तैनाथ गर्न सकिन्छ, जसले गर्दा यो लडाईंको लागि तयार हुन्छ।’
 
वास्तवमा, सन् २०२१ देखि अमेरिका र विभिन्न अन्तर्राष्ट्रिय ‘थिंक ट्यांक’हरूले स्याटेलाइट तस्बिरका आधारमा चीनबारे विभिन्न दाबीहरू गर्दै आएका छन्। यी दाबीहरूले चीनले आफ्ना उत्तर पश्चिमी क्षेत्रहरूमा ठूलो संख्यामा क्षेप्यास्त्र साइलो निर्माण गरिरहेको संकेत गर्छन्।
 
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको सन् २०२५ को एक प्रतिवेदनले चीनले ३०० भन्दा बढी क्षेप्यास्त्र साइलो निर्माण गरेको खुलासा गरेको थियो । यी संरचनाहरू सिन्जियाङको हामी, गान्सुको युमेन र भित्री मङ्गोलियाको युलिन गरी तीन स्थानमा निर्माण गरिएका हुन्। तर, त्यस समयमा चीनले यी दाबीहरूको न त पुष्टि गर्‍यो न त खण्डन नै ।
 
बरु, उसले आफ्नो आणविक नीति पूर्णतया रक्षात्मक रहेको अडान लियो र चीनबाट आणविक खतरा रहेको भन्ने कुरालाई बढाइ चढाइ गरिएको तर्क गर्‍यो। सरकारी सञ्चारमाध्यमले त तीमध्ये केही स्थलहरूलाई वायु ऊर्जा परियोजनाका रूपमा समेत चित्रण गरेका थिए।
 
सीसीटीभीको वृत्तचित्रमा एक अधिकारीले दिएको बयानलाई अब अमेरिकाले यस अघि गरेका दाबीहरूलाई चीनले स्वीकार गरेको रूपमा हेरिएको छ। चुईले बताए अनुसार परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्न उनको टोलीले नयाँ प्रविधिहरूको प्रयोग गरेको थियो, जसले क्षेप्यास्त्र उत्पादनको गतिलाई निकै बढाएको थियो।
 
उनले यो पनि उल्लेख गरे कि परियोजना समयमै पूरा होस् भन्ने सुनिश्चित गर्न धेरै इन्जिनियर र सैनिकहरू वर्षौंसम्म निर्माण स्थलमै खटिएका थिए र घर फर्कन पाएका थिएनन् । कुईले भने कि यी साइलोहरू निर्माण गर्नु सजिलो काम थिएन । सबैभन्दा ठूलो चुनौती विशाल कम्पोनेन्टहरू स्थापना गर्नु र त्रुटि बिना तिनीहरूलाई जम्मा गर्नु थियो। यसको बावजुद, उनको टोलीले समय मै सम्पूर्ण निर्माण पूरा गर्यो।

यद्यपि उनले यी साइलोहरूमा कुन मिसाइलहरू तैनाथ गरिनेछ भनेर निर्दिष्ट गरेनन् । विज्ञहरू विश्वास गर्छन् कि तिनीहरू अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलहरूको डिएफ श्रृंखलाको लागि डिजाइन गरिएको हो।
 
‘डिएफ ५ सी’ चीनको सबैभन्दा लामो दूरीसम्म मार हान्न सक्ने आणविक क्षेप्यास्त्रहरूमध्ये एक हो। चीनले यसको मारक क्षमता विश्वको जुनसुकै भागसम्म पुग्ने बताएको छ। यो क्षेप्यास्त्र भूमिगत साइलोबाट मात्र प्रहार गर्न सकिन्छ।
 
नयाँ साइलोहरू (क्षेप्यास्त्र भण्डारण तथा प्रक्षेपण स्थलहरू) शत्रुको आक्रमण थेग्न र आवश्यक परेको खण्डमा जवाफी आणविक प्रहार गर्न सक्षम हुने गरी डिजाइन गरिएको दाबी गरिएको छ। यो चीनको ‘पहिले आणविक हतियार प्रयोग नगर्ने’ आधिकारिक नीतिसँग मेल खान्छ, साथै यसले आणविक आक्रमणको अवस्थामा जवाफी कारबाही गर्न सक्ने पूर्ण क्षमता पनि कायम राख्छ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖