मस्को । रुसको साइबेरियास्थित एक प्रयोगशालामा भएको दुर्घटनापछि खतरनाक सङ्क्रमण फैलिएको आशङ्कामा रुसी अधिकारीहरूले सतर्कता बढाएका छन्। घटनामा एक अनुसन्धानकर्ताको मृत्यु भएको छ।
राज्य समाचार एजेन्सी टासका अनुसार इर्कुत्स्क नजिकैको शेलेखोभस्थित एन्टी-प्लेग रिसर्च इन्स्टिच्युटमा दुर्घटना भएको हो। दुर्घटनापछि २८ वर्षीया महिला कर्मचारीमा अज्ञात प्रकारको न्युमोनिया देखिएको र उनको मृत्यु भएको बताइएको छ।
रुसको सङ्क्रामक रोगसम्बन्धी निकाय रोस्पोत्रेब्नाद्जोरले प्रयोगशालाबाट कुन भाइरस वा जीवाणु बाहिरिएको हो भन्ने अझै स्पष्ट नभएको जनाएको छ। यद्यपि इर्कुत्स्क क्षेत्र तथा इर्कुत्स्क र शेलेखोभ सहरको स्वास्थ्य तथा महामारीसम्बन्धी अवस्था नियन्त्रणमै रहेको दाबी गरिएको छ।
छिमेकी बुरियातियाका प्रमुख अलेक्सी त्सीदेनोभले मृतक महिलाको मृत्यु सम्भावित रूपमा प्लेगका कारण भएको हुन सक्ने बताएका छन्। तर बुरियातियामा प्लेगको प्रकोप नरहेको उनले स्पष्ट पारेका छन्।
इर्कुत्स्कका गभर्नर इगोर कोब्जेभले सर्वसाधारणलाई शान्त रहन आग्रह गर्दै सम्भावित खतरनाक सङ्क्रमणबारे क्षेत्रीय महामारीविरुद्धको आयोगको आकस्मिक बैठक बसेको जानकारी दिएका छन्।
प्रयोगशाला नजिकै रहेको इर्कुत्स्क एल्युमिनियम प्लान्टले पनि पूर्वसावधानीका रूपमा कर्मचारीलाई मास्क लगाउन निर्देशन दिएको छ। प्लान्टका निर्देशक आर्तेम फोमिनिखका अनुसार सङ्क्रमित व्यक्तिका सबै निकट सम्पर्कमा रहेकाहरू चिकित्सकीय निगरानीमा छन्। उनीहरूमा हालसम्म कुनै लक्षण नदेखिएको र परीक्षणको नतिजा नेगेटिभ आएको उनले बताएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनौपचारिक रिपोर्टअनुसार मृतक महिलालाई उपचारका लागि लगिएको शेलेखोभ अस्पतालमा करिब २०० जनालाई निगरानीमा राखिएको छ। केही स्वास्थ्य संस्थामा क्वारेन्टिनसमेत लागू गरिएको दाबी गरिएको छ। यद्यपि यी विवरणहरू आधिकारिक रूपमा पूर्णरूपमा पुष्टि भएका छैनन्।
रोस्पोत्रेब्नाद्जोरका पूर्वप्रमुख गेनाडी ओनिशचेन्कोले भने सङ्क्रमण प्लेग नभएको हुन सक्ने बताएका छन्। पुष्टि भइहाले पनि रोग व्यापक रूपमा फैलिने सम्भावना कम रहेको उनको दाबी छ।
न्युमोनिक प्लेग नामक जीवाणुका कारण हुने प्लेगको एक प्रकार हो। यसले फोक्सोलाई असर गर्ने भएकाले श्वासप्रश्वासका कणमार्फत मानिसबाट मानिसमा सर्न सक्छ। यसका बिरामीमा ज्वरो, टाउको दुख्ने, कमजोरी, छाती दुख्ने, सास फेर्न कठिनाइ र खोकीजस्ता लक्षण तीव्र रूपमा देखिन सक्छन्।
अमेरिकी अधिकारीहरूले पनि घटनालाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र अन्य साझेदार निकायसँग समन्वय भइरहेको तथा घटनासम्बन्धी धेरै विवरण अझै पुष्टि हुन बाँकी रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार प्लेग गम्भीर र मृत्युदर उच्च हुन सक्ने रोग भए पनि समयमै एन्टिबायोटिक उपचार तथा उचित सावधानी अपनाएमा यसको उपचार सम्भव छ।
