कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपक्षकी पत्नी तथा पूर्वप्रथम महिला शिरन्थी राजपक्षलाई भ्रष्टाचारसम्बन्धी अनुसन्धानका क्रममा बुधबार पक्राउ गरिएको छ ।
उनीमाथि आफ्नो नेतृत्वमा रहेको ‘सिरिलिया सविया’ संस्थाको बैंक खातासँग जोडिएको १ करोड श्रीलङ्काली रुपैयाँको कारोबारमा अनियमितता गरेको आरोप छ ।
भ्रष्टाचार तथा घुससम्बन्धी आरोपको अनुसन्धान गर्ने श्रीलङ्काको आयोग (सीआईएबिओसी) का अधिकारीहरूले कोलम्बोको किरुलापोनस्थित राजपक्ष परिवारको निवासबाट ७३ वर्षीया शिरन्थीलाई नियन्त्रणमा लिएका हुन् । उनी पूर्वराष्ट्रपति महिन्दा राजपक्षकी पत्नी हुन् ।
सीआईएबीओसी आयोगका अनुसार शिरन्थीले सरकारी स्वामित्वको बैंकबाट १ करोड श्रीलङ्काली रुपैयाँ प्राप्त गरी त्यसको ‘दुरुपयोग’ गरेको आरोपमा सार्वजनिक सम्पत्ति ऐन तथा भ्रष्टाचारसम्बन्धी कानुनअन्तर्गत अनुसन्धान अघि बढाइएको हो ।
