मुम्बई । रणवीर कपूर, यश र साई पल्लवी अभिनीत फिल्म ‘रामायण’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । रिलिज भएको २३ दिनमै फिल्मले भारतमा १,००० करोड भारु नेट कलेक्सनको आँकडा पार गरेको हो ।
यससँगै यो भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो बलिउड फिल्म बनेको छ । समग्र भारतीय फिल्मको कमाइका आधारमा भने यो चौथो स्थानमा रहेको छ ।
साकनिल्कका अनुसार फिल्मले २३ औँ दिन भारतमा ८.४५ करोड भारु नेट कलेक्सन गरेको छ । यससँगै भारतमा फिल्मको कुल नेट कमाइ १,०००.५५ करोड भारु पुगेको छ । बक्स अफिसमा २३ दिनपछि फिल्मको भारत ग्रस कलेक्सन १,१९५.१० करोड भारु पुगेको छ भने विश्वव्यापी ग्रस कलेक्सन १,७९०.१० करोड भारु पुगेको छ ।
‘रामायण : पार्ट-१’ भारतमा १,००० करोड भारु नेट कमाउने दोस्रो बलिउड फिल्म बनेको छ । यसअघि रणवीर सिंह अभिनीत ‘धुरन्धर २’ ले यो कीर्तिमान बनाएको थियो ।
२३ औँ दिनमा विश्वभर १,७९० करोड भारु संकलन गरेसँगै ‘रामायण : पार्ट-१’ सर्वाधिक कमाउने तेस्रो भारतीय फिल्म बनेको छ । यसले ‘पुष्पा २’ (१,७४२ करोड भारु) र ‘बाहुबली २’ (१,७८८ करोड भारु) को रेकर्ड तोडेको छ । ‘दंगल’ र ‘धुरन्धर २’ भने अझै अगाडि छन् ।
यो फिल्म सन् २०२६ को दोस्रो सर्वाधिक कमाउने फिल्म पनि बनेको छ । यसले पहिलो सप्ताहन्तको कमाइबाटै अजय देवगनको ‘दृश्यम ३’ को ५७७ करोड भारुको कमाइलाई पछाडि पारेको थियो ।
फिल्मले रिलिजको पाँचौँ दिन अर्थात् ९ नोभेम्बरमा १०७.५० करोड भारु नेट कलेक्सन गरेको थियो । साकनिल्कका अनुसार भारतीय बक्स अफिसमा कुनै पनि फिल्मको यो हालसम्मकै सबैभन्दा ठुलो पाँचौँ दिनको कमाइ हो । यसले ‘धुरन्धर २’ को ६५ करोड भारुको रेकर्ड तोडेको छ ।
साकनिल्कको तथ्याङ्कअनुसार फिल्मले १८ दिनमा हिन्दी संस्करणबाट ७०० करोड भारु नेट कलेक्सन गरेको थियो । यस्तो गर्ने यो दोस्रो सबैभन्दा छिटो हिन्दी फिल्म बनेको छ । यो सूचीमा ‘धुरन्धर २’ पहिलो स्थानमा छ ।
