काठमाडौं । साउदी अरबमा विदेशी घरेलु कामदारहरुको लागि ठूलो परिवर्तन भएको छ। साउदी सरकारको आधिकारिक वेबसाइट ‘साउदी गजेट’का अनुसार सरकारले विदेशी घरेलु कामदार भर्नाका लागि जारी गरिएको भिसा नियमलाई कडाइ गर्ने प्रयास गरेको छ ।
साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयका अनुसार नयाँ नियम अनुसार साउदी अरेबियाका अविवाहित पुरुष वा महिलालाई घरेलु कामका लागि विदेशी कामदार भर्ना गर्न अलि कठिन भएको छ ।
अब कुनै पनि अविवाहित साउदी नागरिकले २४ वर्ष पुगेपछि मात्रै विदेशी नागरिकलाई घरेलु काममा लगाउन सक्नेछन् । यी सर्तहरू पूरा भएपछि मात्र विदेशी कामदारलाई भिसा दिइनेछ।
साउदी अरेबियाको यो निर्णय नेपालका लागि पनि महत्वपूर्ण बनेको छ किनभने हरेक वर्ष ठूलो संख्यामा नेपाली कामका लागि साउदी अरब जान्छन्।
अब साउदी अरेबियामा २४ वर्ष मुनिका अविवाहित नागरिकको घरमा नेपाली लगायत विदेशी कामदारले हाउस हेल्परको रुपमा काम गर्न पाउने छैनन् ।
रिपोर्टका अनुसार साउदी अरेबियाले घरेलु श्रम बजारलाई व्यवस्थित र नियमन गर्न यो निर्णय गरेको हो । साउदी मानव संसाधन मन्त्रालयले ग्राहकहरू (नियोक्ताहरू) को लागि मुसानेद प्लेटफर्म पनि स्थापना गरेको छ। जहाँ उनीहरुको अधिकार, कर्तव्य र सम्वन्धित कामको जानकारी दिइनेछ । यही मञ्चबाटै कामदारलाई भिसा दिने र कामदारबीच वार्ता गर्ने व्यवस्था मिलाइएको छ ।
यस बाहेक कामदारहरूलाई एसटीसी पे र युआर पे मार्फत तलब हस्तान्तरण गर्ने सुविधा मुसानेद प्लेटफर्ममा नै उपलब्ध गराइएको छ। घरेलु श्रम सम्झौता प्रमाणीकरण र विवाद समाधान जस्ता सुविधाहरू पनि छन्। अर्थात्, यो प्लेटफर्मले साउदी अरबमा घरेलु कामदारहरूको भर्तीको लागि आधिकारिक प्लेटफर्म प्रदान गर्दछ।
यसको उद्देश्य नियुक्ति प्रक्रियामा पारदर्शिता ल्याउनुका साथै रोजगारदाता र श्रमिकबीचको कुनै पनि प्रकारको विवाद समाधान गरी दुवैको हकअधिकार सुनिश्चित गर्नु हो।
