• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सर्लाहीमा हिजो भएको झडपमा ज्यान गुमाएका साहको शव अझै घटनास्थलमै


  • धनकुटा खबर
  • .

काठमाण्डौ – सर्लाहीको बरहथवामा हिजो भएको झडपमा ज्यान गुमाएका जयशंकर साहको शव घटनास्थलमै रहेको छ । स्थानीले गोली हान्ने प्रहरीलाई कारबाही हुनुपर्ने लगायतका माग राखेर शव उठाउन नदिएपछि साहको शव घटनास्थलमै रहेको हो । शव उठाउने विषयमा जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले पहल नगरेको स्थानीयको आरोप छ ।

बरहथवामा अहिले पनि प्रदर्शन चलिरहेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षा कायम राख्न भन्दै लगाएको निषेधाज्ञालाई प्रदर्शनकारीले अवज्ञा गरेका छन् । प्रदर्शनकारीले नयाँरोड मधुवनी सडक खण्डको बरहथवामा अवरोध गरेर सडक बन्द गरेका छन् । घटनाबारे छलफल गर्न अहिले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सर्वपक्षीय बैठक बसिरहेको बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले जानकारी दिनुभयो।

स्थानीयले बरहथवाको नगर अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरी प्रादेशिक अस्पताल कायम गर्नुपर्ने, प्रहरीको गोली लागि ज्यान गुमाएका जयशंकर साहको नाममा प्रादेशिक अस्पतालको नामकरण गरिनुपर्ने, मृतकलाई शहीद घोषण गरी क्षतिपूर्तिको व्यवस्थापन गरिनुपर्ने, गोली प्रहार गर्ने प्रहरी र आदेश दिने प्रहरी अधिकृतलाई निलम्बन गरी कारबाही गरिनुपर्ने र बरहथवा नगरपालिका मेयर कटुवालले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

माग पूरा नभएसम्म शव नउठाउने स्थानीयको अडान छ । नगर अस्पतालको स्वामित्व विवादमा हिजो भएको प्रदर्शनका क्रममा भएको झडपमा परि साहको ज्यान गएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖