नेपाली नागरिक विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको आज तीन महिना पुगेको छ । आजै उनको जन्मदिनको उपलक्ष्यमा ललितपुरको लगनखेलमा कार्यक्रम राखिएको छ ।
उनको सकुशल रिहाइका निम्ति लगनखेल बसपार्क नजिकैको महादेव मन्दिरमा दिउँसो ३ बजेदेखि शान्ति र्याली निकाल्न लागिएको बताइएको छ । र्याली जावलाखेल पार्कसम्म पुग्ने छ ।
हमासले इजरायलमाथि आक्रमण गरेपछि हमासले नियन्त्रणमा लिएका इजरायलीलगायत विभिन्न मुलुकका बन्दीमध्ये विपिन पनि एक हुन् । अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही थालेको हो ।
हमासको आक्रमणमा झण्डै १२ सयको मृत्यु भएको थियो । उसले बन्दी बनाएका २४० जनामध्ये १२० जना अझै रिहा भएका छैनन् । त्यसमध्ये विपिन पनि एक हुन् । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
