• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन प्रचण्ड र देउवा सहमत


  • धनकुटा खबर
  • .

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सहमत भएका छन् ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौला सोमबार राष्ट्रिय सभा सदस्य पदको मनोनयन दर्ता गर्न विराटनगर जाँदैछन् । ‘तपाईंलाई राष्ट्रपति बनाउन सकिएन, त्यहाँ रामचन्द्र पौडेललाई नल्याई भएन,’ प्रधानमन्त्री दाहाल र सभापति देउवाले सिटौलासँग भनेको भनाई उदृत गर्दै कांग्रेस उच्च सूत्रले भन्यो, ‘अब तपाईं राष्ट्रिय सभाको अध्यक्ष हुनुहोस्, त्यो पनि संवैधानिक पद नै हो ।’

राष्ट्रपति बनाउने भनेर दिएको आश्वासन पूरा नगरेका दाहाल र देउवासँग सशंकित सिटौलाले पटक पटक उनीहरूसँग वाचा दोहोर्याउन लगाएर मात्र सदस्य पदमा मनोनयन गर्न विराटनगर जान लागेको सूत्रले बतायो ।
कोशी प्रदेशको सरकार गठन गर्दा सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सहयोग मागेका थिए ।

त्यसबेला लिङ्देन झापा क्षेत्र नम्बर ३ मा सिटौला चुनाव लड्दा आफूलाई असजिलो भएको कुरा सुनाउँदा देउवाले भनेका थिए, ‘अब सिटौला झापाबाट चुनाव लड्दैनन्, उनी राष्ट्रिय सभामा जान्छन्, ढुक्कसँग सहयोग गरे हुन्छ’ भनेर आश्वासन दिएका थिए ।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियादेखि संविधान घोषणा गर्दासम्म निरन्तर सहयोग गरेकाले पनि सिटौलालाई यसपटक राष्ट्रिय सभाको नेतृत्वमा पुर्याउन आफू वचनबद्ध रहेको निकटस्थसँग बताएका छन् ।

यता सभापति देउवाले आफू निकट नेताहरू पूर्व उपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री फर्मुला मन्सुरलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने तयारी गरिसकेका छन ।

नेपाली कांग्रेसमा मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, गोविन्द पोखरेल र सुजाता कोइरालासहित पाँचसय जति नेताले राष्ट्रिय सभा सदस्य बन्ने आकांक्षा सभापति देउवासँग राखिसकेका छन् ।

देउवा निवासमा नेता शेखर कोइराला, पूर्णबहादुर खड्का, गगनकुमार थापा र रमेश लेखक आकाङ्क्षीहरू मध्येबाट नाम छनौट गर्न सक्रिय भएको थाहा भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖