• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रेशम चौधरी अध्यक्ष भएपछि रञ्जिता किन असन्तुष्ट ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पार्टीको महाधिवेशनले चयन गरेको कार्यसमितिप्रति रुष्ट भएकी छन् ।

महाधिवेशनले आफ्नो बारेमा कुनै निर्णय नगरेपछि रञ्जिताले असन्तुष्ट भएर महाधिवेशनस्थल छाडेकी बताइन्छ । स्रोतका अनुसार अध्यक्षमा दोहोरिने चाहना रञ्जिताले राखेकी थिइन् तर रेशम चौधरी आफैँ अध्यक्ष भएपछि रञ्जिताको हैसियत पार्टीमा के हुने भन्ने स्पष्ट भइसकेको छैन । त्यसैले असन्तुष्टि स्वरुप महाधिवेशनस्थल छाडेर हिँडेकी रञ्जिता अझै फर्केकी छैनन् ।

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले भने, ‘रञ्जिताजी सल्लाहमै हो या आफैँ निस्केर जानु भयो भन्ने थाह भएन तर आज महाधिवेशनस्थलमा देखिनुभएको छैन ।’

सांसद चौधरीका अनुसार रञ्जिताको चाहना पनि अध्यक्ष बन्ने नै हुन सक्छ । तर रेशम चौधरी अध्यक्ष भएपछि रञ्जिताको पोजिसन के हुने भन्ने अझै स्पष्ट नभएको उनले बताए ।

रञ्जितालाई सहअध्यक्षमा राख्ने हो कि भन्नेबारे कुराकानी चलिरहेको तर उनी त्यसका लागि तयार छन् कि छैनन् भन्ने नखुलेको प्रदेशसभा सदस्य चौधरीको भनाइ छ ।

रेशम चौधरीले महाधिवेशनभन्दा पहिले रञ्जितालाई अध्यक्षमै निरन्तरता दिने जनाएका थिए । तर महाधिवेशनमा रेशमले अचानक उम्मेदवारी दिएका कारण रञ्जिताको चित्त दुखेको नागरिक उन्मुक्ति पार्टीका एक नेताले बताए ।

रञ्जिताको चाहना आफू अध्यक्ष रहने र रेशम चौधरीलाई अभिभावकको कुनै भूमिका दिएर राख्ने थियो तर रेशम चौधरीले आफैँ अध्यक्ष बन्ने योजना अघि सारेपछि रञ्जिताको चित्त दुखेको हुनसक्ने स्रोतले बतायो । ‘महाधिवेशनले नै रञ्जिताको पदको व्यवस्थापन गर्नुपर्छ नत्र असन्तुष्टि बढ्दै गएपछि समस्या खडा हुन्छ,’ स्रोतको भनाइ छ ।

यस विषयमा जान्नका लागि रञ्जिता श्रेष्ठसँग सम्पर्क गर्दा उनले फोन उठाइनन् । २१ जना संस्थापकमध्ये पाँच जना मात्र नयाँ कार्यसमितिमा समेटिएका छन् । १६ जना संस्थापक अझै बाहिर रहेकाले तिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖