• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

गोरखा दरबारको गर्भगृहमा पृथ्वीनारायणको राजगद्दी पुनःस्थापना


  • धनकुटा खबर
  • .

गोरखा। भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण सम्पन्न भएसँगै तत्कालीन राजा पृथ्वीनारायण शाहको राजगद्दी मूल दरबारको गर्भगृहमा पुनःस्थापना गरिएको छ।

भूकम्पका कारण भग्नावशेष अवस्थामा रहेको राजगद्दी मर्मतसम्हार गरी शुक्रबारदेखि पुरानै ठाउँमा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णुप्रसाद पाठकले जानकारी दिए।

“भूकम्पले दरबारमा क्षति पुगेपछि दरबारमा रहेको ऐतिहासिक राजगद्दी पनि दरबार परिसरमा भग्नावशेष अवस्थामा थियो”, प्रमुख पाठकले भने, “त्यसलाई पुरातात्विक तथा ऐतिहासिक महत्व नमेटिने गरी साविकै स्वरुप र शैलीमा साविककै ठाउँमा राखिएको छ ।”

भूकम्पपछि दरबार पुनःनिर्माणका क्रममा राजगद्दी पनि भग्नावशेष अवस्थामा रहेको थियो ।विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पबाट राजगद्दी र पृथ्वीनारायण शाहको बाल्यकालमा सेक ताप गरिएको भनिएको अँगेनाको ध्वनि पनि भूकम्पपछि बन्द भएको थियो।

पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राजगद्दी साविककै स्थानमा राखिएको हो। गर्भगृहमा राजगद्दी राखिएसँगै अबदेखि गोरखा दरबार पुग्ने नागरिकले मूलदरबारमा राखिएको ऐतिहासिक गद्दी हेर्न पाउनेछन्।

“विगतमा जस्तै अबदेखि गर्भगृहमा राखिएको राजगद्दी दरबार बाहिरको झ्यालबाट अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ”, प्रमुख पाठकले भने, “दरबारमा विगतमा बलिरहेको ध्वनिलाई निरन्तर गर्ने गरी कामको थालनीसमेत भएको छ।”

भूकम्पले क्षति पु¥याएको मूलदरबार, कालिका मन्दिर, रङगमहल, गोरखानाथगुफालगायतका अधिकांश संरचना पुनःनिर्माण र मर्मत गर्ने कार्य लगभग सकिएपछि राजगद्दी पनि देखाउने उपयुक्त हुने भएकाले आवश्यक मर्मत गरी पुरानै ठाउँमा राखिएको उनले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖