• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउन नाउपाले विधान संशोधन गर्ने


  • धनकुटा खबर
  • .

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले निर्वतमान अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने भएको छ ।

टीकापुरमा जारी प्रथम केन्द्रीय अधिवेशनबाट पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएपछि उनकी पत्नी रञ्जिताका लागि विधान संशोधन गरी सहअध्यक्ष रहने व्यवस्था गर्ने तयारी गरेको हो ।

नाउपाका नवनिर्वाचित महासचिव गंगाराम थारूले निर्वतमान अध्यक्षलाई व्यवस्थापन गर्न विधान संशोधन गरेर सहअध्यक्षको व्यवस्था गर्न लागेको बताए ।

‘विधान संशोधन गरेर सहअध्यक्षको व्यवस्था गर्ने कुरा भएको छ,’ थारूले अनलाइनखबरसँग भने, ‘निवर्तमान अध्यक्षलाई नै सहअध्यक्ष बनाइने गरी छलफल चलेको छ ।’

रेशम चौधरी नाउपाको अध्यक्षमा सर्वसम्मत चयन भएपछि रञ्जिता श्रेष्ठले असन्तुष्टि व्यक्त गरेको नेताहरुले बताएका छन् ।

पत्नीको असन्तुष्टि मात्र नभएर भविष्यमा आउनसक्ने कानुनी जटिलतालाई समेत ध्यानमा राखेर रेशमले पार्टीको विधान संशोधन गर्न लागेको एक नेताले बताए । ‘राष्ट्रपतिले उहाँलाई बाँकी कैद मिनाह गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला अध्यक्षमा सर्वसम्मत हुनुभएको छ । कतिपयले टीकापुर घटनामा जन्मकैद पाएकाले उहाँ अध्यक्षा बन्न पाउनुहुन्न भन्ने कुरा गरिराख्नुभएको छ,’ ती नेताले अनलाइनखबरसँग भने, ‘यदि निर्वाचन आयोगले उहाँलाई अध्यक्षमा मान्यता दिएन भने रञ्जिता म्याडमलाई नै कार्यकारी अधिकार दिनेगरी विधान संशोधन हुन लागेको हो । त्यसपछिको अध्यक्ष उहाँ नै बन्नुहुनेछ ।’

रञ्जिताले अध्यक्षमा दोहोरिने इच्छा राखे पनि रेशम चौधरीले मनोनयन दर्ता गरेपछि उनी महाधिवेशन स्थल छाडेर हिँडेकी थिइन् ।

नाउपाले प्रथम महाधिवेशनबाट अध्यक्षसहितका २७ पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको छ भने दुई उपाध्यक्षमा सहमतिको प्रयास जारी रहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖