धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले पार्किङ शुल्क उठाएकोमा विरोध गरिरहेको रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कटाक्ष गरेका छन् । उनले आइतवार सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै रास्वपा विकासविरोधी पार्टी रहेको टिप्पणी गरेका हुन् ।
मेयर साम्पाङले रास्वपाले खाली सत्ताकै लागि मात्र राजनीति गरिरहेको आरोप लगाएका छन् । ‘रास्वपाले चुनाव चिन्हसहितको ब्यानर राखेरै धरानको कर प्रणालीको विरोध गर्नु भनेको धरानको विकास प्रणालीको विरोध गर्नु हो । किनकि कर संकलन गरेर बिकास गर्ने हो । थोरै विकास भयो भनेर गुनासो गर्नु किन ? कर नै उठाउँदा विरोध गर्छन् भने रास्वपा भोटकै लागि मात्रै रैछ, विकासको विरोध गर्दो रैछ भन्ने कुराको योभन्दा पोख्त प्रमाण अरु केही चाहिँदैन, कुनै नयाँ नीति कार्यक्रम छैन त्यहाँ बस सत्ता !’, उनले ट्विटर (एक्स)मा लेखेका छन् ।
उपमहानगरपालिकाले पार्किङ शुल्क उठाउन ठेक्का लगाएपछि ठेकेदारका कर्मचारीले राजमार्ग र सहायक राजमार्गमा रोकिएका मोटरसाइकल, स्कूटर र अन्य सवारी साधन चालकसँग शुल्क उठाउँदै आएका छन् ।
नगर आफैंले निर्माण गरेको पार्किङस्थलको मात्र शुल्क उठाउन पाउने कानूनी व्यवस्था रहेको छ । तर, धरान उपमहानगरले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने कोशी राजमार्ग र सहायक राजमार्गमा कानूनविपरीत शूल्क उठाएको रास्वपाको धारणा छ ।
यसैलाई लिएर रास्वपाले धरान नगर समितिले सञ्चालन गरेको हस्ताक्षर अभियान बिहीवार धरानका मेयर साम्पाङले रोक्न लगाएका थिए ।
