• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाविरुद्ध हर्क साम्पाङको तारनतार स्टाटस, के हो खास ?


  • धनकुटा खबर
  • .

विराटनगर । फेसबुकमा तारनतार स्टाटस लेखेर चर्चामा आएका धरानका मेयर हर्क साम्पाङ पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध खनिएका छन् । उपमहानगरपालिकाले लगाएको पार्किङ शुल्कको विरोधमा हस्ताक्षर संकलन गर्न थालेपछि रास्वपाविरुद्ध उनी आक्रमक भएका छन् ।

उनका पछिल्ला अधिकांश स्टाटस रास्वपाविरुद्ध छन् । साथै रास्वपाविरुद्ध आएका समाचारसमेत सेयर गरिरहेका छन् ।

हर्कले लेखेका छन्, ‘ रु १० को एजेन्डा लिएर विकासको विरोध गर्ने पार्टीले विकासको नीति के ले को छ ? श्रीलंकाको यात्रामा नेपाललाई लैजानेमात्रै त होला ! कि कसो पो ?’

उनले केही बेरअघि मात्र लेखेका छन्, ‘रास्वपाको एजेण्डा रु १०/- कस्तो लाग्यो हौ ? विकासको निम्ति लिएको रु १०/- साह्रै ठुलो कर लायो भन्छ तउ ! विकासको लागि अर्थ नीति के रैछ यो पार्टी को ? बोल्ने होइन काम गर्ने गर है !’

हर्कले ‘कहानी १० रुपे ! रास्वपाको कहानी १० रुपे !!!’ भन्दै गीतसमेत गाएर भिडिओ राखेका छन् ।

आफूले लगाएको पार्किङ्ग शुल्कविरुद्ध रास्वपाले विरोध जनाउँदै हस्ताक्षर संकलन अभियान थालेको छ । ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलहरू निर्धारण नीति तथा कार्यक्रम स्पष्ट नगरी ठेकेदारमार्फत शुल्क सङ्कलन गर्न थालेपछि हर्कमो चौतर्फी आलोचना भइरहेको छ । उपमहानगरपालिकाले सामाजिक सञ्जालमा सूचना प्रकाशित गरी कात्तिक २४ गते देखि यात्रुवाहक सार्वजनिक सवारी सफारी, ट्याम्पोबाट पार्किङ शुल्क लिन थालेको छ ।

उपमहानगरपालिकाले धरान १६ को लिङथेप एन्ड को कन्स्ट्रक्सनलाई मोटरसाइकल र निजी साना र हल्का सवारी साधनको शुल्क उठाउने र मोरङको प्रिन्स निर्माण सेवालाई यात्रु वाहक सार्वजनिक यातायातका सवारी साधनहरूलाई पार्किङ शुल्क असुलीको ठेक्का दिएको छ । ठेक्कापछि धरानमा स्कुटर, मोटरसाइकललाई १० रूपैयाँ, ट्याम्पो, निजी साना, हलुका सवारीलाई २५ रूपैयाँ, सफारीलाई ३० रुपैयाँ, कार, मारुती भ्यानलाई ३५ रुपैयाँ, बास, माइक्रो बस, बेलुरो, स्कारपियोलाई ५० रूपैयाँ शुल्क लिइँदै आएको छ ।

पार्किङ शुल्क असुल गरेता पनि सुरक्षाको जिम्मा भने असुली गर्ने ठेकेदारले नलिने सूचनामा उल्लेख छ । शुल्क दिएर पार्किङ गरी राखेको सवारी साधन हराएमा, चोरी भएमा सम्बन्धित सवारी धनी नै जिम्मेवार हुने सूचनामा आएपछि रास्वपाले विरोध जनाउँदै आएको छ । उसले नगरपालिकाको विरुद्धमा हस्ताक्षर संकलन सुरू गरेको छ । हस्ताक्षर संकलनका क्रममा नगर प्रहरीले केही दिन अघि हस्तक्षेप समेत गरेको थियो ।-नेपाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖