काठमाडौं । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये दुई जहाज प्राविधिक समस्स्याका कारण ग्राउण्डेड भएका छन् । यसबाट सयौं यात्रुको यात्रा प्रभावित बनेको छ । निगमको कलसाइन ९एन–एलजेड ए३३० जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
‘हिजो राति दोहा उड्नुपर्ने यो जहाजको उडान रोकिएको छ, रोकिएका यात्रुलाई आज साँझ ७ः ४५ बजेको उडानबाट दोहा लैजाने गरी तयारी गरिरहेका छौं,’ उनले भने, ‘जहाजहरु ग्राउण्डेड हुँदा उडानहरु डिले हुने छन्, सकेसम्म पूर्वनिर्धारित उडान रद्द नगर्ने गरी योजना बनाएका छौं ।’
निगमको एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । १ महिनाभन्दा लामो समय नेपालमै ग्राउण्डेड भएको यो जहाज बेलैमा मर्मतको व्यवस्था मिलाउन नसक्दा निगमको एकैसाथ अन्तर्राष्ट्रिय उडानमा दुई जहाज कमी हुन पुगेको हो ।
प्रवक्ता पौडेलका अनुसार रातिबाट ग्राउण्डेड भएको जहाजको मर्मतको काम जारी छ । ‘यसलाई आजै उडानयोग्य बनाउने प्रयास छ,’ उनले भने, ‘त्यसो गर्न सकियो भने पूर्वनिर्धारित उडानहरु प्रभावित हुने छैनन् ।’ निगमसँग अब एउटा वाइडबडी र एउटा न्यारोबडी जहाजमात्र उडानयोग्य अवस्थामा छन् ।
दोहा उडानमा काठमाडौंबाट उड्ने तयारीमा रहेका २७६ यात्रुलाई राति होटेलमा राख्नु परेको थियो । उनीहरुलाई आज उडाउने तयारी रहेको प्रवक्ता पौडेलले बताए ।
