• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भएका सूर्य बहादुर दवाडी छन् ।

७० वर्षीय दवाडीलाई मुद्दा फैसला भएको २१ वर्षपछि पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।

२०५९ फागुन २८ मा दवाडीले अंश सम्बन्धी विषयमा विवाद हुँदा पत्नी सानुमाया दवाडीको हत्या गरेका हुन् । पत्नीलाई कुटेर हत्या गरेपछि उनले नाम्लोले घाँटीमा बाँधेर रुखमा झुण्याए । त्यसपछि आत्महत्या गरेको भन्दै बुढी गण्डकीमा लगेर जलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

जिल्ला अदालत धादिङले २०६१ जेठमा उनलाई सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । जिल्ला अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ । उनी लामो समय भारतमा लुकेर बसेको र नेपाल प्रवेश गरेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको सीआईबीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

उनी रुपन्देहीको सिद्धार्थनगरस्थित बेलहियाबाट पक्राउ परेका हुन् । प्रहरीले उनलाई जिल्ला अदालत धादिङमा उपस्थित गराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖