• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पूरानो शिलालेख फुटाएर गोदावरीका मेयरले गरे भवन दोस्रो पटक उद्घाटन


  • धनकुटा खबर
  • .

धनगढी । नेकपा एमालेको नाराबाजीकाबीच कैलालीको गोदावरी नगरपालिकाको प्रशासनीक भवनको दोस्रो पटक उद्घाटन गरिएको छ ।

एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउँदले २०७८ सालमा उद्घाटन गरेको शिलालेख फुटाएर अहिलेका मेयर बिरेन्द्र भट्टले भवनको बिहीबार दोस्रो पटक उद्घाटन गरेका हुन् ।

भट्ट २०७९ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेवार भएर मेयरमा विजयी भएका थिए । तत्कालीन मेयर साउँदले भवनको उद्घाटन गरेर भित्तामा लगाएको शिलालेख फुटाएर अहिलेका मेयरले नगरपालिकाको प्राङ्गणमा आफ्नो नामको शिलालेख राखेर उद्घाटन गरेका हुन् ।

तत्कालीन मेयरको शिलालेख हटाइएको ठाउँमा अहिले निर्वाचित जनप्रतिनिधिहरुको नामावली राखिएको छ । मेयर भट्टले पूरानो शिलालेख फुटाएर आफ्नो नामको नयाँ शिलालेख बनाएर भवनको पुनः उद्घाटन गर्ने बेला नेकपा एमालेका जनप्रतिनिधिसहितका नेता तथा कार्यकर्ता गेट बाहिर उनीविरुद्ध नाराबाजी गर्दै थिए ।

मेयर भट्टविरुद्ध नाराबाजी लगाइरहेका एमालेका नेता कार्यकर्ता भवनको पुनः उद्घाटन भइसकेपछि भने त्यहाँबाट फर्किएका छन् । एमालेले एकपटक उद्घाटन भइसकेको भवन पुनः उद्घाटन गर्ने कार्य गैर लोकतान्त्रिक हुने भन्दै बिहान नगरपालिका घेराउ गरेको थियो तर नगरपालिकाले भने सुरक्षाकर्मी परिचालन गरेर कार्यकर्ताहरुलाई नगरपालिकाबाट गेट बाहिर पठाएको थियो ।

Navjiwan hospital adv
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बिरेन्द्र भट्टले एसियाली विकास बैँकले निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरेको भवन विगतमा गलत प्रवृत्तिबाट उद्घाटन गरिएकाले अहिले विधिवत रुपमा उद्घाटन गरेको दाबी गरे ।

एमालेबाट निर्वाचित ३ जना वडाध्यक्षसहितको कार्यपालिका बैठकले शिलान्यासमा पूर्व मेयरको नाम राखेर उद्घाटन गर्ने निर्णय गरेको पनि भट्टले बताए ।

‘यसअघि गलत प्रवृत्तीबाट उद्घाटन भएको थियो । त्यो बेला पनि राजनीतिक दलले विरोध गरेका थिए,’ भट्टले भने, ‘एमालेबाट निर्वाचित ३ जना वडाध्यक्षहितको कार्यपालिका बैठकले शिलान्यासमा उहाँ (पूर्व मेयर) को नाम राखेर निर्णय गर्दा उहाँहरु ज्ञापन पत्र लिएर जानुभयो । तरपनि उपप्रमुखलाई अनुरोध गरेका थियौँ ।’

मेयर भट्टले गोदावरी नगरपालिकाको हितका लागि कुनै राजनीतिक प्रतिशोध नराखेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

दोस्रो पटक भवनको उद्घाटन कार्यक्रमलाई उपमेयर शारदादेवी रोकायासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले समेत बहिष्कार गरेका छन् ।

२०७६ सालमा शिलान्यास गरेर एसियाली विका बैँकले १३ करोड ४६ लाखको अनुदान सहयोगमा प्रशासनीक भवन निर्माण गरेर गोदावरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।-प्रेसपत्र

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖