• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?


  • धनकुटा खबर
  • .

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले कानुनबमोजिम ११ माघमा हुने निर्वाचनका लागि गएराति १२ बजेबाट मतदान नसकिँदासम्म मौन अवधि लागू गरेको हो ।

मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन । आयोगले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री सामाजिक सञ्जालमार्फत सम्प्रेषण वा आदानप्रदान गर्न वा गराउन नहुने जनाएको छ ।

त्यस्तै, सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृसंगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न निषेध गरिएको छ ।

आयोगले फागुन २१ गतेबाट रिक्त हुने राष्ट्रिय सभाका २० मध्ये १९ सिटका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ । एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । निर्वाचनमा सात प्रदेशबाट विभिन्न दलका ५१ जनाले उम्मेदवारी दिएका छन् ।

यसपटक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, राज्यमन्त्री नन्दा चपाईं र प्रमिला देवीसहितको पदावधि सकिँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖