• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

निर्वाचनको पूर्वसन्ध्यामा आचारसंहिता उल्लंघन, २४ घण्टाभित्र प्रतिवेदन दिन सीडीओलाई आयोगको निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौं,१० माघ । राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा दलहरुले आचारसंहिता उल्लंघन हुनेगरी कार्यक्रमको आयोजना गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनको अघिल्लो दिन सत्तारुढ दल र प्रतिपक्षी दल दुवैले कार्यक्रम तथा भेटघाट गरेका थिए । प्रचारको निषेध अवधिको उल्लंघन गर्दै दलहरूले भेला राखेका हुन् । बिहीबार राष्ट्रियसभाको १९ पदका लागि चुनाव हुँदैछ । जहाँ प्रदेश सांसद र पालिकाका प्रमुख– उपप्रमुख मतदाता छन् ।

बुधबार विराटनगरस्थित निवासमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चियापान कार्यक्रम आयोजना गरे । जहाँ नेपाली कांग्रेसका महामन्त्री गगन थापा, उमेदवार कृष्णप्रसाद सिटौला, नेता मीनेन्द्र रिजाललगायतका नेता कार्यकर्ताहरू उपस्थित थिए ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि कोशीको निर्वाचनलाई ध्यानमा राखेर आज विराटनगरको एक होटलमा कार्यक्रमको आयोजना गरेको थियो । नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितको उपस्थितिमा एमाले र राप्रपाका नेताहरु सहभागी भएका थिए ।

कोशीको २ सिटमा हुने निर्वाचनका लागि एमाले र राप्रपाले तालमेल गरेका छन् । निर्वाचन आयोगले सोमबार मध्यरात १२ बजेबाट नै निर्वाचनको मौन अवधि सुरु हुने भनेर सोमबार नै सूचना जारी गरेको थियो । तर, निर्वाचनको मौन अवधिलाईसमेत बेवास्ता गर्दै सत्ता र प्रतिपक्षी दुवैले कार्यक्रम गरेपछि आयोगले मोरङका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै घटनाको २४ घण्टाभित्र विवरण पेश गर्न निर्देशन दिएको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनको लागि आयोगको पुस २९ मा बसेको बैठकको निर्णयानुसार निर्वाचन आचारसंहिता, २०७९ को दफा ४। दफा ५ को खण्ड (क) दफा २१ र दफा २२ को व्यवस्था माघ २ गते देखि माघ १२ गते सम्म लागू भई सोको सूचना पुस २९ को नेपाल राजपत्रमा प्रकाशन समेत भैसकेको आयोगको भनाइ छ ।

‘निर्वाचन आचारसंहिता लागू भएको समयावधिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो अठ्चालीस घण्टा देखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेल सम्म राजनीतिक दलका पदाधिकारी, दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने विशेष आचरण अन्तर्गत निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था विपरीत मोरङ जिल्लाको विराटनगरमा केही राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरीत हुने गरी निर्वाचन प्रचारप्रसारको गतिविधि गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट आयोगमा प्राप्त हुन आएकोले निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ९५० विपरीतको कार्य भएकोले सोको सत्यतथ्य बुझी यकिन गरी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय भएकोले सो बमोजिम प्रतिवेदन पेश गर्नु हन निर्णयानुसार अनुरोध छ’ आयोगले भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖