सुर्खेत । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सुर्खेतको वीरेन्द्रनगरमा एक हजार ७ सय १६ वटा किताब बेचेका छन् । उनले चार दिनको अवधिमा एक हजार ७ सय १६ वटा किताब बिक्री गरेका हुन् ।
चार दिनअघि सुर्खेतको राजधानी वीरेन्द्रनगरमा आएका उनले पहिलो दिनमा ४ लाख ४६ हजार २५० रुपैयाँको ५९५ पुस्तक बिक्री गरेका थिए ।
यस्तै दोस्रो दिन २ लाख ६२ हजार ५०० को ३५० वटा किताब बिक्री गरेका उनले तेस्रो दिनमा ३ लाख १५ हजार ७५० रुपैयाँको ४२१ पुस्तक बिक्री गरे ।
उक्त दिन राष्ट्रिय सभाको निर्वाचन थियो । निर्वाचन स्थलमै पुगेर पुनले नेताहरुलाई समेत किताब बेचेका थिए । चौथो दिनमा २ लाख ६२ हजार ५०० को ३५० किताब बेचेर उनी शुक्रबार दैलेखतर्फ लागे । पुनले शनिवार दैलेख सदरमुकाममा किताब बेचिरहेका छन् ।
वीरेन्द्रनगरमा स्थानीय समाजसेवी युवा नवराज बोहोरालगायतले पुनलाई किताब बिक्री गर्नमा सहयोग गरेका थिए ।
