• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

महासचिव पोखरेलद्वारा कार्यकर्तालाई बेथितिबिरुद्ध सङ्घर्षका लागि तयार रहन निर्देशन


  • धनकुटा खबर
  • .

बागलुङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण अभियान सुरु भएको बताउनुभएको छ ।

नेकपा (एमाले) बागलुङले आज बागलुङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जनताका बीचमा पहिलो पार्टी एमालेले बलियो जनमत ल्याउने गरी अभियान सञ्चालन भैरहेको बताउनुभयो ।

विगतमा पार्टीभित्रै देखिएका समस्या समाधान गरेर पार्टी जोगाउने अभियानमा एमाले सफल भएको भन्दै उहाँले अब राष्ट्र र राष्ट्रियता जोगाउने अभियान सुरु भएको बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो– वर्तमानमा देखिएका बेथितिबिरुद्ध एमालेले सङ्घर्ष गर्नुपर्ने छ, पार्टीले सङ्घर्षका कार्यक्रम तयार गरेर सार्वजनिक गर्छ, तपाईंहरू तयार रहनुहोला । अहिलेको सरकारका कारकारवाही चित्तबुझ्दो भएनन्, भ्रष्टाचार र बेथिति मौलाएको छ, चुप लागेर बस्ने अवस्था रहेन् ।

उहाँले देशमा सामाजिक सुरक्षाको प्रत्याभूति र सुशासनका लागि एमाले नै सरकारमा रहनुपर्ने धारणा राख्नुभयो । महासचिव पोखरेलले भन्नुभयो– एमाले सरकारमा हुँदा बुढाबुढीले भत्ता, शिक्षक, कर्मचारी र राष्ट्रसेवकले तलब बढ्ने आशा गर्छन्, अहिले राजश्वले कर्मचारीको तलबभत्ता पुर्याउन कठिन छ ।

एमाले बाहेकका शक्ति सरकारमा पुग्दा राजश्व चुहावट हुने गरेको उहाँको भनाइ छ । उहाँले वर्तमान सरकार विदेशीका सामु लम्पसार परेको, राष्ट्र र राष्ट्रियताका सवालमा गम्भीर नभएको बताउनुभयो । कुनै बेला पार्टीको सिद्धान्त र विचारको बिषयमा बहस पैरवी गरेर नथाक्ने मोहनबिक्रम सिंह र उनका कार्यकर्ता कांग्रेसको दलालीमा लागेको भनाइ महासचिव पोखरेलले राख्नुभयो ।

‘हामी विचार र सिद्धान्तमा प्रष्ट छौं, जनताले बुझ्न समय लाग्छ, एक दिन बुझ्नेछन भन्थे, उनीहरूका कार्यकर्ताको विश्वास देखेर हामी अचम्ममा परिन्थ्यो’ महासचिव पोखरेलले भन्नुभयो– हिजो एकतन्त्रीय शासनका बिरुद्धमा लड्न कांग्रेससँग मिलौं भन्दा पुष्पलाललाई गद्दार भन्ने मोहनविक्रम सिंह अहिले कांग्रेसको दलाली गरिरहेका छन् । उहाँले नेकपा मसालका महासचिव सिंह परिवारवादमा पुगेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖