राष्ट्रिय सभा निर्वाचनमा भएको कोशी विद्रोहपछि राजनीतिले अर्को मोडलिलने अनुमान भईरहँदा सबैभन्दा चेपुवामा भने एकीकृत समाजवादी परेको छ । अध्यक्षको हैसियतले नेपाललाई दवाव परेको छ । कांग्रेस संस्थापनइतर समूहको नेतृत्व गरिरहेका नेता डा.शेखर कोइराला समूहले कोशीमा घात गरेको माओवादीको दाबी छ । स्रोतका अनुसार माओवादी उम्मेदवार हराउन कोशीका मुख्यमन्त्री केदार कार्की, नेता शेखर कोइराला र संघीय सांसद सुनिल शर्माले भूमिका खेलेका थिए । नेतात्रय कार्की, कोइराला र शर्माले नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर माओवादी उम्मेदवारलाई हराएको माओवादीमा चर्चा छ ।
त्यसो त माओवादीभित्र हालको सत्ता गठबन्धन फेरबदर गरेर एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउनुपर्ने आवाज उठ्दै गएको छ । राष्ट्रपति निर्वाचनमा टुटेको एमाले र माओवादीबीचको गठबन्धन राष्ट्रिय सभा अध्यक्षको निर्वातनमा जोडिन सक्ने सम्भावना प्रवल रहेको स्रोतको दाबी छ । यहि एमाले–माओवादीको गठबन्धन बनेको खण्डमा त्यो गठबन्धनमा एकीकृत समाजवादी नरहने निश्चित छ । माओवादीसँग सहकार्य र एकताका लागि एमालेले एकीकृत समाजवादीलाई नसमेट्ने शर्त राखेको स्रोतको दाबी छ । एमाले माओवादीबीच नयाँ शिराबाट सत्ता सहकार्य भएमा आफूहरु गठबन्धनबाट बाहिरिनुपर्ने चिन्तामा यतिबेला एकीकृत समाजवादीका अध्यक्ष नेपाल देखिएका छ्न्।
हालको सत्ता समीकरणमा भएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री हुनेछन् । एकवर्ष नेपाल प्रधानमन्त्री बनेपछि अन्तिममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । तर, सत्ता साझेदार दलबीचको यो सहमति भत्काउन र माओवादीलाई आफ्नो कित्तामा उभ्याउन एमालेले निक्कै समयदेखि प्रयास गर्दै आएको छ ।
जसरी भएपनि सत्ता गठबन्धन भत्काउने रणनीतिमा रहेको एमाले कुनैपनि हालतमा माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने बरु आगामी २ वर्ष प्रधानमन्त्री प्रचण्डलाई नै बनाउने गरी अगाडि बढेको स्रोतको दाबी छ । माधव नेपाललाई सत्ता गठबन्धनबाट हटाउन माओवादी तयार भए एमाले प्रचण्डलाई अर्को २ वर्ष प्रधानमन्त्री स्वीकार्न तयार रहेको सिग्नल अोलीले बालुवाटारलाई दिएको उच्च स्रोतले दाबी गरेको छ ।
एकातिर सत्ता गठबन्धन टुट्ने र रहने दोधारमा रहँदा अर्कोतिर एकीकृत समाजवादीभित्र एमालेसँग मिल्नुपर्ने आवाज बलियो बन्दै गएको छ । माधव नेपालले तत्कालीन नेकपाको एकता भंग भएपनि पूर्ववत अवस्थामा एमाले फर्किएपनि अध्यक्ष ओलीको व्यवहार सहन नसकेपछि पार्टी फुटाएर एकीकृत समाजवादी गठन गरेका थिए ।
तत्कालीन अवस्थामा एमाले फुटाउन हौस्याउने नेताहरु झलनाथ खनाल, रामकुमारी झाँक्री, विजय पौडेल, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर लगायताका अधिकांश नेताहरु पुरानो कुरा भुलेर एमालेमै फर्किनुपर्ने पक्षमा खुल्दै गएका छन् । स्रोतका अनुसार सम्मानीत नेता खनाल र नेतृ झाँक्रीले त एमालेका नेताहरुसँग चरणवद्ध छलफलसमेत थालिसकेका छन् । एमाले निकट स्रोतका अनुसार इलाम २ मा हुने उपनिर्वाचनमा टिकट पाए पुरानो घर फर्किन आफू तयार रहेको संकेत झलनाथले बालकोटमा पठाएका छ्न् । खनालको संकेतबारे एमालेमा रामै्र ढंगले छलफलसमेत भएको तर निश्कर्षमा नपुगिएको स्रोतको दाबी छ ।
नयाँ पार्टी गठन गरेपनि आम निर्वाचनमा लज्जास्पद हार भोगेको र राष्ट्रिय पार्टीसमेत बनाउन नसकेको, सदैव गठबन्धनको पिछलग्गु बनेको, एमालको भन्दा कुनैपनि फरक नीति, विधि र सिद्धान्त अवलम्बन गर्न नसकेको, कार्यकर्तालाई पार्टीमा जोगाउ नसकेको, कुनैपनि प्रष्ट मार्गदर्शन पहिल्याउन नसकेको आरोप खेप्दै आएका नेपालमाथि पछिल्लो समय सत्ता साझेदार दलले गर्ने व्यवहारबारे पनि प्रश्न उठ्दै आएको छ ।
सरकार बनाउन र टिकाउन आफ्नो दलले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै आएपनि सत्ता गठबन्धनले भने एकीकृत समाजवादीलाई त्यतिधेरै भाउ दिएको देखिँदैन । मन्त्रिपरिषद् विस्तारमा ४ मन्त्रालय दाबी गरेका नेपाललाई अन्तिममा २ मन्त्रालयमा खुम्च्याउन होस् वा राष्ट्रिय सभा निर्वाचनमा पाएको सिटले होस् पार्टीभित्र तीब्र असन्तुष्टि सिर्जना भएको छ ।
तत्कालीन एमालेमा १४ वर्षसम्म पार्टी प्रमुख बनेर हालिमुहाली गरेका नेपालले ०७१ सालमा भएको नवौं महाधिवेशनपछिको ७ वर्षमै अध्यक्ष अोलीमाथि विभिन्न आरोप लगाएर पार्टी फुटाएको तर पार्टी फुटाएको औचित्य पुष्टि नहुँदै पार्टीलाई संकटमा धकेलेको भन्दै नेता तथा कार्यकर्ताले प्रश्नैप्रश्न तेस्र्याएका छन् । जसले गर्दा अध्यक्ष नेपाल स्वयं अप्ठ्यारोमा परेका छन् ।
