• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सन्तान अमेरिका पठाउने अनि अरुलाई उपदेश दिने ?


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेत्री रेखा थापाको ‘बेबी प्लान’लाई लिएर यतिबेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रेखाबीच आरोप–प्रत्यारोप चर्किएको छ । पार्टीनिकट प्राज्ञिक परिषद्को कार्यक्रममा शनिबार लिङ्देनले पार्टी नेतृ समेत रहेकी रेखालाई लक्षित गर्दै कटाक्ष गरेका थिए ।

उनले भनेका थिए, ‘एकजना पूर्वगृहमन्त्रीको कुरा मात्र होइन, एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’

लिङ्देनले रेखाको नाम नलिएर यो कटाक्ष गरेका थिए । पार्टी नेतृ समेत रहेकी अभिनेत्री रेखा अहिले बेबी प्लानको योजनासहित अमेरिकामा छिन् । लिङ्देनको उक्त अभिव्यक्ति सार्वजनिक हुने बित्तिकै रेखाले पनि अमेरिकाबाटै आक्रोसित प्रतिक्रिया दिएकी छन् ।

उनले एक्समार्फत लिङ्देनलाई जवाफ फर्काएकी छन् । उनी लेख्छिन्, ‘देशको माया हुनेहरुले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो !! अमेरिकामा किन राखेको ?’

अर्को ट्वीट छ, ‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाङ परेपछि बिरालाहरु खाबो कोतर्दै छन रे त ! आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि ?’

रेखाले पनि लिङ्देनको नामै नलिइकन यस्तो कटाक्ष गरेकी छन् । लिङ्देनले पनि छोरीलाई पढ्न अमेरिकामा पठाएको उल्लेख गर्दै रेखाले उनको नैतिकतामाथि प्रश्न उठाएकी छन् ।

कामको कुरा गर्दा रेखा अभिनित र निर्मित फिल्म ‘उपहार’ फागुन २५ गते प्रदर्शन तयारीमा छ । उनले अमेरिकाबाटै फिल्मको भर्चुअल प्रचारप्रसार गरिरहेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖