• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

दरबार हत्याकाण्ड : पूर्वराजाले मुख खोलेपछि नेताहरु त्रसित, छानबिन गर्न कसले रोक्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपालको राजनीतिक परिवर्तन गराउने एक अकल्पनीय घटनाको रुपमा रहेको दरबार हत्याकण्डको आज पनि रहस्यको गर्भमै छ।

तत्कालीन छानबिन समितिले युवराज दीपेन्द्रलाई नै हत्याकाण्डको दोषारोपण गरिएको छ। परिवारसँगको आन्तरिक किचलोको उपज उक्त हत्याकाण्ड गरेको छानबिन समितिको निष्कर्ष छ।

यद्यपि आम जनमानसले यसलाई स्वीकार गर्ने पक्षमा छैनन्। यसको सत्यतथ्य आजसम्म उजागर हुन सकेको छैन। र, यसको स्वतन्त्र पुष्टि अझै हुन सकेको छैन।
२०५८ जेठ १९ गते राति नारायणहिटी राजदरबारमा भएको नरसंहारमा राजा वीरेन्द्रको बंश नाश भएको घटनाको त्यसयता स्वतन्त्र छानबिन हुन सकेको छैन।

उक्त घटनामा राजा वीरेन्द्रसहित सपरिवार उनको कान्छा भाइ धीरेन्द्रलगायत अन्य शाही नातेदारहरुको निधन भएको थियो। उक्त घटना भएको दिन दरबारमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रको परिवारका सदस्य घाइते भए पनि उनी भने सो दिन घटनास्थलमा थिएनन्।

नेपालमा संवैधानिक राजतन्त्रको अन्त्य गराउन प्रमुख भूमिका नै दरबार हत्याकाण्डलाई लिइन्छ। किनभने गद्दीसीन राजाको सम्पूर्ण परिवारको निधन भएपछि राजपरम्परा विपरित राजा भएका ज्ञानेन्द्र शाहमाथि शंकाको दृष्टिले हेरियो।

त्यसपछि उनको कारणले राजसंस्थाप्रतिको मोह नेपाली जनतामा खस्किँदै गएपछि छोटो समयमा औपचारिक रुपमै नेपालबाट राजतन्त्रको अन्त्य हुन पुगेको थियो।
दरबार हत्याकाण्ड पछि राजा भएका ज्ञानेन्द्रले पनि त्यतिबेलामा हत्याकाण्डको यथार्थता सार्वजनिक गर्न प्रयत्न गरिएको भए नेपालबाट यति सहजै राजतन्त्रको. अन्त्य हुने अवस्था आउने थिएन।

पूर्वराजा शाहको अभिव्यक्ति पछि अहिले समकालीन दलका नेताहरु निकै तरंगित देखिएका छन्। उनीहरुले दरबार हत्याकाण्डबारे आआफ्ना बुझाइ र ठम्याइ सार्वजनिक रुपमा अभिव्यक्त गर्न थालेका छन्।ओलीको भनाइ अनुसार दीपेन्द्रले हत्या गराएको होइन भने दरबार हत्याकाण्ड कसको योजनामा घटाइएको थियो? यस बारेमा दलहरु मौन छन्। तर उनीहरुले पूर्वराजालाई इंगित गर्दै आक्षेप लगाइरहेका छन्।

यद्यपि सर्वोच्चका प्रधानन्यायाधीशको नेतृत्वमा गठित छानबिन समितको प्रतिवेदनले दीपेन्द्रलाई दोषी बनाएको थियो। तर कतिपय सार्वजनिक तथ्य एवं जानकारीका आधारमा आम नेपाली जनले दीपेन्द्रमाथिको आरोप स्वीकार्न नसकेपछि यस घटनाप्रतिको आशंका अहिलेसम्मै कायमै छ।

त्यस समयमा नेपालमा माओवादी जनयुद्ध पनि फैलँदोक्रममा थियो। माआवादीले राजतन्त्रको विरुद्धमा युद्धको छेडेको थियो। कतिपयले यस हत्याकाण्डलाई माओवादी युद्धसँग पनि जोडेर हेर्ने गरेका छन्। माओवादी युद्धको उद्देश्य राजतन्त्रविरुद्ध केन्द्रित हुनु र त्यसबखत दरबारमै राजाको निधन भएपछि यसलाई कतिपयले माओवादी युद्धको उपजका रुपमा आशंका गरेका थिए।

यी विविध पक्षका आधारमा सबैले आआफ्नो ढंगले दरबार हत्याकाण्ड प्रतिको आशंका व्यक्त गर्दै आइरहेका छन्। तर हालसम्म छानबिन गर्ने प्रयत्न कसैबाट पनि भएको छैन।

आज २२ वर्षभन्दा बढी समय पुग्नै लाग्दा समेत यसको यथार्थता जनसमक्ष आउन नसक्ुनले नै नेपालको राजनीति तरल अवस्थामा पुगेको आँकलन गरिन्छ।

आन्तरिक र बाह्य षड्यन्त्रको उपज राजा वीरेन्द्र मारिएको बताइए पनि आजसम्म यसको पुष्टि कहीँ कतैबाट हुन नसक्नुले नेपाली राजनीतिमा यसलाई दुखद् घटनाका रुपमा चित्रित गरिन्छ।

तत्कालीन अवस्थामा वीरेन्द्रको बंश नाश पछि राजा भएका उनका माइला भाइ ज्ञानेन्द्र शाहले अहिले आफूमाथि लगाइएको आरोप बारे सार्वजनिक अभिव्यक्ति दिन थालेका छन्। शनिबार वीरगंजमा उनले दरबार हत्याकाण्ड पछि आफू र आफ्नो परिवारविरुद्ध श्रृंखलाबद आक्रमण गरिएको बताएका थिए।

उनले आफ्नो सम्बोधनको क्रममा आफूमाथि शंकाको दृष्टिले हेरिएको भन्दै मुख खोलेपछि फेरि यस विषयले नेपाली राजनीति तरंगित बनेको छ।

उनले वीरगञ्जमा आयोजित आफ्नो नागरिक अभिनन्दनमा सम्बोधन गर्दै भनेका थिए, ‘जेठ १९, २०५८ मा घटेको विनासकारी घटनामा जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएको थियो। हामी र हाम्रो परिवारलाई घातक प्रहार पनि गरेका थिए।’

पूर्वराजा शाहले आफ्नो गद्दी त्यागको एक कारक दरबार हत्याकाडको दोष आफूमाथि लगाइएकोले भएको हो भन्ने बोध उनले गरिसकेको उनको यो अभिव्यक्तिबाट प्रष्ट हुन्छ।

उनको सम्बोधनले नेपालको राजनीतिक घटनाक्रममा संदिग्ध मानिएको दरबार हत्याकाण्डको बारेमा नेताहरुका सार्वजनिक अभिव्यक्ति आउन थालेका छन्।

प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने दाबी गरेका छन्। यद्यपि उनले बारम्बार यस्तो अभिव्यक्ति दिँदै आएकै ह्ुन्। तर पूर्वराजाको अभिव्यक्तिको सन्देशलाई नियालेपछि उनको यस्तो सार्जजनिक घोषणा गरिएको हुनसक्दछ।

सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले पूर्वराजाको अभिव्यक्ति गलत भएको भन्दै दरबार हत्याकाण्डको छानबिन गर्ने बताएका थिए।

यता एमाले अध्यक्ष केपी ओलीले पनि राजाको अभिव्यक्ति पछि पूर्वराजालक्षित टिप्पणी गरेका छन्। उनले राजा हुने कुनै परम्परागत आधार नभएका ज्ञानेन्द्र भवितब्यका कारण राजा भएको बताएका थिए। उनले दरबार हत्यकाण्ड पछि सिर्जित शाहवंशको रिक्तताको उपज ज्ञानेन्द्र राजा भएको उनको भनाइ थियो।

तर ओलीले दरबार हत्याकाण्डबारे विगतको छानबिन समितिको प्रतिवेदन विपरितको अभिव्यक्ति दिएका छन्। उनले राजदरबार हत्याकाण्डमा युवराज दीपेन्द्रको भूमिका नरहेको आशयको अभिव्यक्ति दिएका छन्।

आइतबार तेजाव पीडितको कथामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को घोषणा कार्यक्रममा उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भनेका थिए, ‘राजा हुन लागेको एउटा मान्छेले त्यसरी आफ्नो परिवार नै सखाप पार्छ, मार्छ?’

दरबार हत्याकाण्डबारे छाबिन गर्न गठित समितिको प्रतिवेदनमा पारिवारिक टकराव र प्रेमसम्बन्धका कारण दीपेन्द्रले नै आफ्नो परिवारको बंशनाश गराएको आरोप लगाइएको छ। तर ओलीले यसलाई ठाडै अस्वीकार गर्दै प्रश्न गरेका थिए, ‘दरबारभित्र अगाडिबाट उसैले गोली हान्ने, पछाडिबाट पनि उसैले गोली हान्ने? यस्तो पनि कहीँ हुन्छ?’

पूर्वराजा शाहको अभिव्यक्ति पछि अहिले समकालीन दलका नेताहरु निकै तरंगित देखिएका छन्। उनीहरुले दरबार हत्याकाण्डबारे आआफ्ना बुझाइ र ठम्याइ सार्वजनिक रुपमा अभिव्यक्त गर्न थालेका छन्।

ओलीको भनाइ अनुसार दीपेन्द्रले हत्या गराएको होइन भने दरबार हत्याकाण्ड कसको योजनामा घटाइएको थियो? यस बारेमा दलहरु मौन छन्। तर उनीहरुले पूर्वराजालाई इंगित गर्दै आक्षेप लगाइरहेका छन्।

एमाले अध्यक्ष ओलीको आशय पनि उनै पूर्वराजा लक्षित रहेको आशयले राजावादी खेमाका नेताहरुले प्रतिवाद समेत गरेका छन्। राजसंस्था पक्षधर राप्रपा नेपालका अध्यक्ष कमल थापाले ओलीको अभिव्यक्ति हास्यास्पद भएको बताएका छन्।

अध्यक्ष थापाले ओलीप्रतिको सम्मान भाव र आफ्नो धारणामा परिर्वत ल्याउने गरी सोच्न बाध्य बनाएको समेत बताएका छन्। एक अर्काप्रति सांकेतिक रुपले आरोपित गर्ने प्रचलनलाई पूर्वराजाले चुनौती दिएपछि दलहरु सशंकित बनेका छन्।

जनतामा व्याप्त दरबार हत्याकाण्ड र यसको आशंका पूर्वराजाप्रति भएको भ्रमले नेपालबाट राजसंस्था बहिर्गमन गराउन प्रमुखभूमिका खेलेकोमा नेताहरु जानकार छन्।
तसर्थ नेताहरु पूर्वराजाले सार्वजनिक रुपमै चुनौती दिएपछि त्रसित बन्दै छानबिन गर्ने घुर्की लगाएका छन् भने कतिपयले सरकारले गठन गरेको छानबिन समितको प्रतिवेदन विपरित दीपेन्द्रको संलग्नता नरहेको ठोकुवा गर्न थालेका छन्।

यदि यसको यथार्थता उजागर भए जनतामा व्याप्त भ्रम हटेर फेरि राजतन्त्रप्रतिको मोह जागृत हु्ने हो कि भन्ने संशयले दलहरुले छानबिन गर्ने हिम्मत जुटाउनेमा आशंका कायमै छ। तर निराधार रुपमा कसैप्रति इंगित गर्दै आरोपित गर्ने अधिकार पनि दलहरुलाई छैन।

पूर्वराजाले पनि यसको छानबिन गर्न र यथार्थता जनसमक्ष ल्याउन जस्तोसुकै त्याग गरेर आफूमाथि लागेको आशंकाको भ्रम निवारण गर्न हिम्मत जुटाउन जरुरी छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖