• Friday 16th of October 2026

४ करोड ४० लाख भन्दा धेरै बिगो मागदावी सहित शाखा अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, मधेस प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत (आठौं) मिन बहादुर भट्टराईविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा दायर गरिएको मुद्दामा भट्टराईले ४ करोड ४० लाख १५ हजार ९ सय २५ रुपैयाँ ८६ पैसा अकुत सम्पत्ति आर्जन गरेको भन्दै बिगो माग गरिएको छ । भट्टराई ललितपुरका पूर्व मालपोत अधिकृत हुन् ।

२०५४ साउन २६ गते सरकारी सेवामा प्रवेश गरेका भट्टराईले २०७९ जेठ ३० गतेसम्म गरेको आम्दानी र खर्चको अनुसन्धान गर्दा अख्तियारले उक्त निष्कर्ष निकालेको हो । सम्पत्ति जफत प्रयोजनका लागि भट्टराईकी कान्छी श्रीमती झुना कुमारी कठेतलाई पनि प्रतिवादी बनाइएको छ ।

२५ वर्षको अवधिमा भट्टराईको वैध आय ५ करोड ९४ लाख ६७ हजार एक सय ४८ रुपैयाँ १० पैसा देखिएपनि उनले यो अवधिमा १० करोड २३ लाख ९२ हजार २ सय ८८ रुपैयाँ १५ पैसा कमाएको देखिएको अख्तियारको दाबी छ ।

अख्तियारले मिनबहादुरसहित उनकी कान्छी श्रीमती झुना कुमारी कठेतलाई श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्ति मध्येबाट बिगो जफत र जरिवाना गरी पाउन मागदाबी गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖