• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भोलिदेखि धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना छ, सतर्क रहनुहोला : मौसमविद्


  • धनकुटा खबर
  • .

पश्चिमी वायुसँगै भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार (माघ १७ गते) देखि बिहीबार सम्म देशका धेरै ठाउँमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मंगलबार ‘हिउँदे मौसमको विशेष बुलेटिन–१’ जारी गर्दै बुधबार र बिहीबार व्यापक मात्रामा मौसम, बदली, वर्षा र हिमपात हुने सम्भावना देखिएकाले सतर्कता अपनाउन आम नागरिकलाई सुझाव दिएको हो।

‘सो प्रणालीका कारण भोलि बुधबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ’, विशेष बुलेटिनमा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ।’

साथै उक्त प्रणालीका कारण बुधबार र बिहीबार तापक्रम घटेर हल्का चिसो बढ्नसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सचेत गराउँदै भनेको छ, ‘यस मौसमी प्रणालीका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

महाशाखााका अनुसार आउँदो शुक्रबारबाट मात्र मौसम क्रमशः सुदूरपश्चिम प्रदेशबाट सुधार हुँदै जाने देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖