• Friday 16th of October 2026

रवीन्द्र मिश्र लक्षित लिङ्देनको अर्को कटाक्षः जो पछाडि बसेको छ,ऊ आफूलाई ड्राइभर भन्छ !


  • धनकुटा खबर
  • .

काठमाडौं,१७ माघ । पूर्व पञ्चहरुको पार्टी भनेर परिचय बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पार्टी फुट्ने र जुट्ने कुरा खासै नौलो होइन् । पटक-पटक फूट र जुटबाट गुज्रिदै आएको राप्रपा पुन एकपटक संकटमा परेको छ ।

प्रादेशीक पहिचानको विराध गर्ने राप्रपामा कोशी प्रदेशमा सभामुख पद लिएयता सुरु भएको आन्तरिक विवाद साम्य हुने छाँटकाँट देखिएको छैन।

सत्ता गठबन्धन र विपक्षी एमालेको समर्थनमा कोशी प्रदेशसभामा राप्रपाका सांसद अम्बरबहादुर विष्ट सभामुख बनेका छन् । उनी सभामुख बन्नुअघि नै पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसमेत रहेको प्रकाशचन्द्र लोहनी नेतृत्वको केन्द्रीय निर्देशन समितिले सभामुख बन्नबाट ‘ब्याक’ हुन निर्देशन दिएको थियो। तर विष्ट रोकिएनन् र निर्विरोध कोशीको सभामुख बने। एकातिर प्रदेश संरचनाको विराध गर्ने अनि अर्कोरित खुरुखुरु प्रदेशको नेतृत्व लिने काम राम्रो नभएको भन्दै निर्देशन समितिका संयोजक लोहनी र वरिष्ठ उपाध्यक्ष मिश्रलगायतले विरोध जनाएका छन् ।

त्यसयता खासगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध आक्रामक भइरहेका छन्।

केही दिनअघि एभिन्युज टेलिभिजनको अन्तर्वार्तामा ‘हिजोअस्ति आएका रवीन्द्र मिश्रले राप्रपा बुझेकै छैनन्’ भनेर कटाक्ष गरेका अध्यक्ष लिङ्देनले मिश्रविरुद्धको प्रहार रोकेका छैनन्।

यसै क्रममा उनले फेरि एक सार्वजनिक कार्यक्रममा मिश्रलक्षित कडा टिप्पणी गरेका छन्। जसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

अध्यक्ष लिङ्देनले वरिष्ठ उपाध्यक्ष मिश्रको नाम नलिईकन बसको पछाडि बसेको व्यक्तिले आफूलाई चालक सम्झेर खास चालकलाई गाडी चलाउन सिकाएको भनी कटाक्ष गरेका छन्।

‘अनुभव छन् भने त्यसरी होइन है, यसरी चलाउनुपर्छ भन्ने छ भने त्यो पनि सुन्छु’, उनले भनेका छन्, ‘तर जो पछाडि बसेको छ, आफूलाई डाइबर भन्छ, तर गाडीचाहिँ जीवनभरि ठोक्काएर थाङ्थिलो पारेको मान्छेले भनेको अनुसार त म कुदाउँदिनँ। जसले जीवनमा एकचोटि पनि एउटा स्ट्यान्डबाट अर्को स्ट्यान्डसम्म राम्रोसँग गाडी पुर्‍याकोे छैन, भन्नचाहिँ आफूलाई सधैँभरि आफूलाई डाइबर हुँ भन्छ, त्यस्तो डाइबरको कुरा राजेन्द्रले मानोस् त तपाईंहरू आफैँ भन्नूस् ल ? प्रमाणित छ, म त्यस्तो मान्दिनँ। मान्दिनँ, तपाईंहरू ढुक्कसँगले रहनूस्।’

लिङदेनले तीन दिनअघि मात्र पार्टीकी नेतृसमेत रहेकी कलाकार रेखा थापाविरुद्ध गरेको टिप्पणीले पनि निक्कै चर्चा पाएको थियो । रेखा सन्तान जन्माउन हाल अमेरिका पुगेकी छन् । उनी अमेरिका गएको विषयमा लिङ्देनले गरेको टिप्पणी यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖