• Friday 16th of October 2026

निराशा र आक्रोश अरुलाई थोपरेर देश बन्दैन : अध्यक्ष ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपार्ने गरेर देश नबन्ने बताएका छन् ।

सबैको सकारात्मक प्रयासबाट मात्र देश बन्ने ओलीको धारणा छ । ‘निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर हुँदैन, हामीले के सकारात्मक प्रयास गर्छौँ, राष्ट्रिय आत्मविश्वास कसरी जगाउँछौँ, त्यसमा भर पर्छ’, ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राखेका छन् ।

व्यक्ति–व्यक्तिको आत्मविश्वासबाट राष्ट्रिय आत्मविश्वास सिर्जना हुने उनले प्रष्ट पारेका छन् । ‘हामीले राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ’, ओलीको धारणा छ ।

देश किन बनेन भन्ने प्रश्नमा मात्र सीमित रहेर देश नबन्ने उनले स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले देश बनाउन राष्ट्रिय आत्मविश्वासका साथ काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘हामी हरेक दिन देश किन बनेन भन्ने प्रश्नमै सीमित हुन्छौँ, देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता छ’, ओलीले लेखेको छन् । देशमा अहिले काम गर्ने सक्रिय उमेरेको ६० प्रतिशत जनशक्ति भएकोले देश बनाउने उचित समय यही भएको उनले उल्लेख गरेका छन् ।

‘देशमा अहिले काम गर्न सक्रिय उमेर समूहको जनसङ्ख्या ६० प्रतिशत भएकाले देश बनाउने बेला यही हो, सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउन नसके ज्येष्ठ नागरिक सङ्ख्या बढी भएको, काम गर्नेभन्दा आश्रित भएर खानेको, उत्पादन गर्नेभन्दा उत्पादन खपत गर्ने बढी जनसङ्ख्या भएको देश हुन्छ, राष्ट्रको आत्मविश्वास निर्माणमा हामी हरेकले लाग्नु पर्ने आवश्यकता छ’, ओलीको धारणा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖