• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

विनोद शाही हत्या प्रकरणमा फरार उपप्रमुख दानमती कारागार चलान


  • धनकुटा खबर
  • .

अछाम। जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती बम (शाही) कारागार चलान भएकी छिन्। जिल्लाको पञ्चदेव विनायक नगरपालिकाका विनोद शाहीको हत्या आरोपमा फरार रहेकी शाही मंगलबार जिल्ला अदालत अछाममा उपस्थित भएकी थिइन्।

जिल्ला अदालतमा मङ्गलवार भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको हो। अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ का १५ वर्षीय विनोद ०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए। ०७९ जेठ १६ गते अछामको पञ्चदेवल नगरपालिका– ४ कुुच्चीका महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूहबीच गाउँमा झडप भयो। त्यो दिन कुटाकुट हुँदा दुवै पक्षका युवा घाइते भए।

झडपमा संलग्नलाई पक्राउ गर्न १७ गते गाउँमा प्रहरी पुग्दा अधिकांश युवा भागे। केहीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँग पनि स्थानीयको हात हालाहाल भयो। सो क्रममा प्रहरीले गर्भवती महिला र बालबालिकालाई समेत धरपकड गर्दै केही युवालाई नियन्त्रणमा लियो। १७ गते गाउँमा प्रहरी पुग्दा भागेका सबै युवा १९ गते सम्पर्कमा आए, तर पञ्चदेवल विनायक नगरपालिका-४ कुच्चीको रिठारुख टोलका बलबहादुर शाहीका १५ वर्षीय छोरा विनोद शाही भने सम्पर्कमा नआएपछि त्यही दिनदेखि उनको व्यापक खोजी थालियो।

०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदानका वेला कुच्ची स्वास्थ्य चौकी मतदान केन्द्रमा एमाले, एकीकृत समाजवादी र कांग्रेसका बीच ‘फेकभोट’ का विषयमा झडप भएको थियो। त्यस दिन कांग्रेसकी दुर्गाकुमारी शाहीले धेरैपटक अन्य व्यक्तिका नाममा मतदान गरेको एमाले, समाजवादीको आरोप छ भने एमाले, समाजवादीले मतदानमा अवरोध गरेको कांग्रेसको आरोप छ। त्यही विषयलाई लिएर १६ गते कुच्चीको एक चिया पसलमा युवाहरूबीच विवाद भएको हो।

विवादकै क्रममा १७ गते राति प्रहरी गाउँमै रहेका वेला साढे ९ बजेतिर बेपत्ता भएका विनोद २१ गते बिहान गाउँनजिकैको भिरमा मृत अवस्थामा भेटिए। टाउको फुटेको, घाँटी रेटिएको र दुवै खुट्टामा चोट लागेर आधा सडेको अवस्थामा बिहान १० बजेतिर भिरमा शव भेटिएको थियो। पीडित परिवारका अनुसार जेठ १७ गते राति स्थानीय रामबहादुर शाहीको घरभित्र विनोदको हत्या गरेर त्यसको तीन दिनसम्म उक्त घरमा ताला लगाई बन्द राखिएको थियो। घरको चाबी हराएको बहाना गरेर उनीहरूले घरभित्र शव लुकाएको र तेस्रो दिनको राति शव लगेर भिरमा खसालेपछि मात्र ढोका खुलेको मृतकका बुबा बलबहादुर शाहीले बताए।-स्टेटसेभन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖