• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ननुहाएको भन्दै श्रीमतीले श्रीमानविरुद्ध मुद्दा हालेपछि…


  • धनकुटा खबर
  • .

अंकारा । टर्कीमा एक महिलाले आफ्नै श्रीमानविरुद्ध मुद्दा हालेकी छिन् ।

नियमित रुपमा ननुहाएको, जीउबाट पसिना ह्वास्स गन्हाएको र दाँत पनि हप्तामा एक दुई पटक मात्रै माझ्ने गरेको भन्दै ती महिलाले मुद्दा हालेकी थिइन् । ती महिलाको पहिचान टर्कीस सञ्चार माध्यमहरुले ए. वाई. भनेर दिएको छ । व्यक्तिगत सरसफाइ फिटिक्कै नगरेको भन्दै महिलाले पतिसँग सम्बन्ध विच्छेदको माग गरेकी थिइन् ।

पीडितको पतिले पाँच दिनसम्म पनि लुगा नफेर्ने, कयौँ दिनसम्म एउटै लुगा लगाइ रहने, विरलै नुहाउने अनि शरीरबाट जतिबेला पनि पसिनाको दुर्गन्ध आउने गरेको वादीको वकिलले अंकारास्थित १९ औँ पारिवारिक अदालतमा भनेकी थिइन् ।

यी दाबीहरु पुष्टि गर्न अदालतमा साक्षीका रुपमा प्रतिवादीका केही परिचित र उनका केही सहकर्मीलाई उपस्थित गराइएको थियो । सबै साक्षीले प्रतिवादीको व्यक्तिगत सरसफाइमा कमीलाई पुष्टि गर्ने बयान दिएका थिए । अदालतले महिलाको पारपाचुकेको अनुरोधलाई स्वीकार गरेको छ भने श्रीमानलाई ५ लाख टर्कीस लिरा (करिब २२ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति पनि तिर्न आदेश दिएको छ ।

श्रीमान् श्रीमती जो भएपनि एक साथ जीवनयापनका जिम्मेवारी निर्वाह गर्नु पर्ने ए. वाई.का वकिल सेनेम यिलमेजलले भनिन् । व्यक्तिगत सरसफाइमा ध्यानै नदिने एकको बानीका कारण सँगै जीवनयापन दुष्कर बन्दै जान्छ भने अर्को पक्षसँग सम्बन्ध विच्छेद गर्ने अधिकार भएको उनको भनाई थियो ।

टर्कीको मुलुकी ऐनमा सम्बन्ध विच्छेदका कारणहरुलाई विशेष र सामान्य भनेर दुई श्रेणीमा विभाजित गरिएको छ । यो मामिलामा क्षेत्रीय अदालतको न्यायाधीशले पीडितको श्रीमानको व्यवहारलाई सम्बन्ध विच्छेदको वैधानिक कारणको रुपमा मान्यता दिएको थियो । हालै भएको पछिल्लो फैसलामा पुनरावेदन अदालतले क्षेत्रीय अदालतको निर्णयलाई कायम राखेको छ ।

पीडितको पति सी. वाई. ले ७ देखि १० दिनमा एक पटक नुहाउने गरेको अदालतमा बुझाइएको दस्ताबेजले देखाएको थियो । उनले हप्तामा एक वा दुई पटक मात्रै दाँत माझ्थे । जसका कारण उनी नजिकमा आउँदा सास पनि ह्वास्स गन्हाउँथ्यो । केही समकक्षीहरुले सी. वाई.को शरीरबाट आउने दुर्गन्धका कारण उनीसँग काम गर्नु यातना जस्तै हुने बताएका थिए । केही वर्ष अघि भारतमा एक पुरुषले दिनहुँ ननुहाएको भन्दै आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेदको मागेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖