काठमाडौं । उद्योगपति अरुणकुमार चौधरीलगायतलाई सीआईबीले पक्राउ गरेको विषयमा नेपाली कांग्रेस संसदीय दलको बैठकमा कुरा उठेको छ । आजको बैठकमा कांग्रेस सांसदसमेत रहेका अरुणका दाजु विनोद चौधरीले पक्राउ र सम्भावित परिस्थितिबारे संसदीय दलको ध्यानाकर्षण गराएका हुन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले सांसद चौधरीले संसदीय दल र नेतृत्वको ध्यानाकर्षण गराएको जानकारी दिए ।
‘उहाँले आफ्ना कुरा राख्नुभएको छ । पार्टीले कुनै आधिकारिक धारणा बनाएको छैन । नेता र सांसदले गम्भीरतापूर्वक सुनेका छौं ‘, लेखकले भने ।
चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको निजीकरणदेखिका सबै प्रक्रियाहरूको बारेमा जानकारी गराउँदै आफूहरूमाथि योजनाबद्धरूपमा हमला गरेको विषयमा दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए।
सांसद सुनील शर्माका अनुसार चौधरीले ४२ सालमा खुल्ला प्रतिस्पर्धाबाट शेयर किनेको बैठकमा जानकारी गराएका छन् ।
मीनबहादुरको गिरफ्तारीदेखि अहिलेसम्म ठूला ठूला उद्योगपति ठूला घरानाहरू गिरफ्तार, ह्याराश, अण्डरटेबल डिल गर्ने प्रचण्ड र नारायणकाजीको डिजाइन भएको उनको आरोप थियो ।
