काठमाडौँ । उदयपुरकी टीना घिमिरे रुसी सेनामा भर्ती भएका पति पदमको ‘फोन कल’को प्रतीक्षामा छिन् । उनलाई पदमले दुई महिनाअघि आफू युद्धमा जान लागेको बताएका थिए ।
‘अबको दुई दिनपछि युद्ध भएको ठाउँमा लग्दैछ, त्यहाँबाट फर्किएर कल गर्छु भन्नुभएको थियो,’ श्रीमानसँग दुई महिना अघि भएको वार्तालाप सुनाउँदै उनले भनिन् । तर अहिलेसम्म पतिसँग कुरा हुन नपाएको उनले बताइन् ।
रूसी सेनामा कार्यरत नेपालीको मृत्युको खबर आउँदा टीनाको मनमा चिन्ता थपिँदै जान्छ । पतिकै चिन्तामा पलपल पिल्सिनु परेको उनको भनाइ छ ।
टीनाका अनुसार ८ लाख रूपैयाँ खर्च गरेर रूसी सेनामा पुगेका थिए पदम । सेनाको तालिम लिँदा साह्रै दुःख भोग्नु परेपछि उनी नेपाल फर्किन खोजेका थिए तर सम्भव भएन । दुई पटक क्याम्पबाट भागे पनि दुवै पटक उनलाई समातेर फेरि क्याम्पमा लगिएको टीनाले बताइन् ।
नेपाल फर्कन भनेर क्याम्पबाट भागेका पदमलाई पाँचौँ दिन रुसी सेनाले नै फेला पारेर फेरि क्याम्पमै लगेको टीनाको भनाइ छ । ‘आफू क्याम्पबाट भागेको र नेपाल आउन लागेको जानकारी दिनुभएको थियो,’ उनले भनिन्, ‘तर समातेर फेरि क्याम्पमै लगेछ ।’
अर्को पटक पनि उनी भाग्न सफल भए तर दोस्रो दिन नै समातिए । दोस्रो पटक समातिएपछि उनले श्रीमतीलाई अबको दुई दिनपछि आफूलाई युद्धमा पठाउन लागेको जानकारी दिएका थिए । त्यस यता पतिसँग सम्पर्क नहुँदा अवस्था के–कस्तो छ भन्नेसम्म पनि जानकारी पाउन नसकेको उनले बताइन् ।
टीनाले आफ्नो श्रीमानको उद्धारका लागि सरकारसँग माग गरेकी छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पतिसहित रुसी सेनामा भएका नेपालीहरुको उद्धारका लागि सरकारसमक्ष आग्रह गरिन् ।
