• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

डरलाग्दो अनलाइन ठगी : एकै व्यक्तिले १ अर्ब ४९ करोडको कारोबार गरेको भेटियो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन जुवा र क्रिप्टो करेन्सीको कारोबार अझै डरलाग्दो रहेको तथ्य फेला परेको छ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयले मंगलबार अनलाइन जुवा खेल्नेहरूका लागि अवैध रुपमा रकम ट्रान्सफर गरिदिने गिरोहका नाइकेलाई समातेको छ।

प्रहरीले अनलाइन जुवा खेल्न र ठगीका लागि विभिन्न माध्यमबाट रकम लोड गरिदिने सप्तरीको राजविराज नगरपालिका १० डुम्री निवासी २६ वर्षीय डम्बर साहलाई पक्राउ गरेको हो।

साहले मात्रै आफ्नो कम्पनीमार्फत सन् २०२१ देखि हालसम्मको दुई वर्षबीचमा अनलाइन जुवा र अन्य अवैध कारोबारका लागि १ अर्ब ४९ करोड रुपैयाँ ट्रान्सफर गरेको तथ्य कार्यालयको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले यो प्रकरणमा कम्तीमा पनि ३४ जना ठगिएको भेट्टाएको छ। साहसहितले अनलाइन जुवाका लागि अवैध रुपमा रकम लोड गरिदिनुका साथै ह्वाट्सएप, फेसबुक र ईमो जसता सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूलाई पार्सल पठाईदिन्छु भन्दै ठग्ने गरेको पनि भेट्टिएको छ।

साहले संचालन गरेको उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट र उनकै नामको खाताबाट विभिन्न चरणमा अवैध अनलाइन जुवाका लागि रकम पठाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ। अन्य व्यक्तिले खोजेको बेलामा साहले त्यसरी अवैध रुपमा रकम पठाइदिने गरेका थिए।

साहले अनलाइन जुवा र ठगीका लागि नगदै, क्रिप्टो करेन्सी र ब्याज लिएर बैंक ट्रान्सफरबाट पनि रकम पठाउने गरेको भेटिएको हो। साहसँग मिलेका मिथलेश कुमार मण्डलले नगद र क्रिप्टो किनबेच गर्ने गरेको पनि कार्यालयले जनाएको छ।

अवैध रुपमा रकम लेनदेनका लागि साहले उद्गम भेन्चर क्यापिटलका चारवटा बैंक खाता खोलेका थिए। ती चारवटा खाताबाट मात्रै उनले ९१ करोड ६२ लाख ३८ हजार ६०९ रुपैयाँ कारोबार गरेको भेटिएको छ। यो काम उनले सन् २०२२ जुलाईदेखि २०२३ जुन अन्तिमसम्म गरेका हुन्।

उता साहले आफ्नै नाममा पनि विभिन्न बैंकमा ११ वटा खाता खोलेको भेटिएको छ। उनले ती खाताबाट ५८ करोड ३५ हजार ६३४ रुपैयाँ कारोबार गरेको भेटिएको छ। यो कारोबार पनि २०२१ जुनदेखि २०२३ जुनसम्म भएको भेटिएको हो।

कम्पनीका चारवटा र आफ्ना ११ वटा खाताबाट साहले यी दुई वर्षको बीचमा १ अर्ब ४९ करोड ६२ लाख ७४ हजार २४९ रुपैयाँ कारोबार गरेको भेटिएको हो।

साहले अनलाइन जुवासहित अवैध कामका लागि क्रिप्टो करेन्सी किन्ने र बेच्ने, अन्यलाई ट्रान्सफर गर्ने र एकाउन्ट ह्यान्डलिङ गर्ने काम पनि गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖