• Friday 16th of October 2026

माओवादी सांसदहरुले भने-प्रधानमन्त्रीले निर्देशन दिइरहने तर काम नहुने अवस्थाको अन्त्य होस्


  • धनकुटा खबर
  • .

२२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानमन्त्री कै निर्देशन कार्यान्वयन नभएको विषयका सन्दर्भमा पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गरेका छन् ।

सोमबार सिंहदरवारमा बसेको पार्टीको संसदीय दलको बैठकमा दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि थिए ।

‘सबै मन्त्रालयको प्रगति विवरण लिखित माग्नुपर्‍यो । काम भएको छ कि झण्डा हल्लाएर मन्त्रीको दिन बितिरहेको छ ?’ माओवादी सांसद लेखनाथ दाहालले भने, ‘प्रधानमन्त्रीले निर्देशन दिइरहने काम नहुने कुरा के हो ? यदि यस्तो भएको हो भने त्यस्तो अवस्थाको अन्त्य होस् ।’

संसदीय दलको बैठकमा सुरुमा आफ्नो कुरा राखेका प्रधानमन्त्री प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा हिउँदे अधिवेशनमै छलफल गर्न लागिएको बताए ।

१६औं पञ्चवर्षीय योजना निर्माणको तयारीमा समेत सरकार रहेको भन्दै उनले सांसदहरुलाई रचनात्मक रुपमा संसदमा प्रस्तुत हुन र नीति निर्माणमा दह्रिलो गरी प्रस्तुत हुन निर्देश गरे ।

प्रचण्डपछि बोलेका सांसद लेखनाथ दाहालले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल भन्दा अगाडि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको सम्बन्धमा गम्भीर समीक्षा गर्न सरकारलाई सुझाव दिए ।

‘नयाँ बजेट निर्माण अगाडि कार्यान्वयनको समीक्षा गर्नुपर्छ । चालु वर्षको बजेट कार्यान्वयन हुन नसक्ने तर, अर्को बजेटको छलफल गर्ने कुराले मात्रै परिवर्तन ल्याउँदैन्,’ सांसद दाहालले भनेका छन्, ‘बजेट कार्यान्वयनका लागि आवश्यक निर्णय लिइयोस् । खर्च हुन नसकेका बजेट रकमान्तर गरेर भए पनि कार्यान्वयन गर्ने र रिजल्ट निकाल्ने गरी काम हुनुपर्छ ।’

नागरिकले विधि र प्रक्रियाभन्दा ज्यादा परिणाम खोजेको र त्यस अनुसार सरकार अगाडि जानुपर्ने उनको सुझाव छ ।

सोमबारको संसदीय दलको बैठकमा सांसद दाहाल सहित १२ जना सांसदले आफ्नो धारणा राखेका छन् । बाँकी सांसद मंगलबार बोल्नेछन् । मंगलबारका लागि संसदीय दलको बैठक बिहान ९ बजे बोलाइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖