• Friday 16th of October 2026

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ


  • धनकुटा खबर
  • .

पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेम पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी छन् ।

भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘आज अदालतमा पेस गरेर अनुसन्धान अगाडि बढाउँछौं’, उनले भने ।

भण्डारी पृथ्वीनारायण (पीएन) क्याम्पसका सहप्राध्यापकसमेत हुन् । उनी पनि सहकारीका पदाधिकारीसँगको मिलेमतोमा बचतकर्ताको रकम दुरुपयोग गरेको अनुसन्धानमा देखिएको प्रहरी स्रोतको भनाइ छ ।

यद्यपि, भण्डारीले भने आफूलाई उक्त विषय जानकारी नै नभएको, पदाधिकारीले नै मिलेमतोमा आफ्नो कागजात र नाम कीर्ते गरेको दाबी गर्दै आएका छन् ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्टार कार्यालयका पूर्वरजिष्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको तत्कालीन राजिस्ट्रारको जिम्मेवारी सम्हालेका बेला मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि छ । उनी पुस ११ गते कुश्मा नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए ।

स्याङ्जाका बुद्धिसागर पौडेल मंसिर २९ र नुवाकोटका गोपाल खनाललाई प्रहरीले मंसिर २८ गते पक्राउ गरेको थियो । त्यसअघि नै पोखरा २५ का राजु बराललाई पक्राउ परेका थिए ।

मित्रमिलन सहकारी प्रकरणमै पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदीसहित विभिन्न मितिमा ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये हालसम्म २५ जना फरार सूचीमै छन् ।

वडाध्यक्ष सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्वलेखा समिति सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको हो । उनीहरु हालसम्म फरार सूचीमै छन् ।

पक्राउ परेका लेखा समिति संयोजक सूर्य अधिकारीलाई भने अदालतले धरौटीमा छोडेको छ ।

पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना पारेको आरोप छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖