• Friday 16th of October 2026

ओलीको आलोचना गरेको भन्दै बालेनविरुद्ध खनिए शंकर पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडौं,२३ माघ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले धरहराको निःशुल्क पार्किङ रोक्न पत्राचार गरिएकोमा असन्तुष्टि जनाउँदै पत्र लेख्न भनेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले जवाफ फर्काएका छन् ।

महानगरले धरहरा क्षेत्रमा सुरु गरेको भूमिगत पार्किङको काम तत्काल रोक्न सोमबार शहरी विकास मन्त्रालयले पत्र पठाएपछि बालेन आक्रोशीत बनेका थिए । उनले २ वर्षअघिनै काम सकेर उद्घाटन गरेको भनिएको धरहरा फेरिपनि काम नसकिएको भन्नु आश्चर्य भएको भन्दै केपी ओलीलाई पत्र पठाउन भनेका थिए ।

यसबारे एमाले महासचिव शंकर पोखरेलले मंगलबार बिहान फेसबुकबाट प्रतिक्रिया दिँदै परियोजनाको महत्त्व नबुझ्नेले आलोचना गर्नु स्वाभाविक रहेको टिप्पणी गरेका छन् । ‘परियोजनाको दूरदर्शी दृष्टिकोण र महत्त्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक हो,’ पोखरेलले लेखेका छन् ।

उनले तत्कालीन प्रधानमन्त्री ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेको र त्यसको निर्माण कार्य उतिबेलै सम्पन्न भइसकेको दाबी पनि गरेका छन् । त्यससँग सम्बन्धित अन्य परियोजनाका काम भने सरकार परिवर्तनका कारण बिलम्ब भएको उनको प्रष्टोक्ति छ ।

‘२०७८ वैशाख ११ शनिबार अर्थात् आजभन्दा २ वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उदघाटन भयो। सोही उद्घाटनलाई तत्कालीन मेयर विद्यासुन्दर शाक्यले आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे’ भन्नुभएको थियो,’ मेयर बालेनले लेखेका थिए।

सहरी विकास मन्त्रालयले धरहरामा पार्किङ नगर्न काठमाडौं महानगरलाई पत्राचार गरेको थियो। ‘केही दिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा धरहरा निर्माण हुँदैछ, पार्किङ बन्द गर्नूु भन्ने पत्र लेखिन्छ,’ मेयर बालेनले भनेका थिए। बालेनको उक्त स्टाटसपछि एमाले नेताहरुले विस्तारै प्रतिक्रिया जनाईरहेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖