• Friday 16th of October 2026

अब भाषण गरेर मात्र हुँदैन् : विष्णु पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ माघ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समाजवादका आधार निर्माण गर्ने र समाज रुपान्तरणमा सहभागी हुने चुनौतीपूर्ण काममा पार्टी कार्यकर्ता सक्रिय भएर लाग्न आग्रह गरेका छन् । पार्टीको रुपन्देहीको आयोजना र केन्द्रीय पार्टी स्कुल विभागको समन्वयनमा हिजो (सोमबार) देखि बुटवलमा सुरु भएको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीलाई विधि, पद्घतिबाट चलाउने, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्ने कुरा चुनौतीपूर्ण रहेकोतर्फ कार्यकर्ताको ध्यानआकृष्ट गर्दै विधि र अनुशासन नभई पार्टी चल्न नसक्ने विषयलाई ध्यानपूर्वक अख्तियार गर्न उनले आग्रह गरे । पार्टीभित्र नीतिमा समस्या नरहेकाले वैयक्तिक स्वार्थमा रहेर काम नगर्ने हो भने अहिले पार्टीमा कुनै समस्या नरहेको तर अरुको तुलनामा हैन हाम्रो आवश्यकताका आधारमा हुन जरुरी रहेको उपाध्यक्ष पौडेलको भनाइ थियो ।

रुपन्देही पार्टीका लागि चुनौतीपूर्ण र अपरिहार्य कार्यसूचिभित्र सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान पहिलो नम्बरमा रहेकाले यसतर्फ दृढतापूर्वक कार्यक्रम बनाएर लाग्न तथा युवा पङ्क्तिलाई आग्रह गर्दै एमालेमार्फत नै युवा समस्याको समाधान हुन्छ भन्ने विश्वास दिलाएर तदनुसारको काममा लाग्न उनले निर्देशन दिएका छन् ।

उनले भने,‘शिक्षा, स्वास्थ्य र रोजगारीका लागि हामीले के गर्न सक्छौं ? यसबारेमा सरकार बाहिर छँदा पनि योजना बनाउन आवश्यक रहेकाले वैकल्पिक कार्यक्रम बनाउनुपर्यो ।’ सबै तहको पार्टी नेतृत्वले आर्थिक सामाजिक रुपमा देश बदल्ने योजना बनाउन जरुरी रहेकाले बैठक, सम्मेलन, कार्यविभाजन र भाषण गरेर मात्र अब नहुने, जनतालाई छुने विषयमा कार्यसूचि बनाएर हिंड्नुपर्ने उनको निर्देशन थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖