• Friday 16th of October 2026

श्री ५ को वायुगुठी संघर्ष समिति, धादिङले फागुन १५ गतेबाट मालपोत कार्यालयमा अनिश्चित्कालिन तालाबन्दी गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ माघ । श्री ५ को वायुगुठी समस्या समाधान संघर्ष समिति, धादिङ्ले आगामी फागुन १५ गतेबाट धादिङमा रहेको मालपोत कार्यालयमा अनिश्चित्कालिन तालाबन्दी गर्ने घोषणा गरेको छ। आज (शनिबार) काठमाडौंमा आयोजित विशेष अन्तरक्रियामार्फत यस्तो निर्णय सार्वजनिक गरिएको हो ।

संघर्ष समितिको अह्वानमा आयोजित अन्तरक्रियामा स्थानीय जनप्रतिनिधिहरु, पार्टी प्रतिनिधिहरु, सभासदहरुलगायत सहभागी थिए । धेरै लामो समयसम्म संघर्ष तथा आन्दोलन गर्दापनि माग पूरा नभएकोमा संघर्ष समितिले दुःख पनि व्यक्त गरेको छ ।

‘हामीले संघर्ष गरेको धेरै वर्ष भयो, तर अहिलेसम्म माग पूरा भएन । यत्तिका लामोस समयसम्म पनि समस्या समाधान नभएकोले आउने फागुन १५ गते संघर्ष समितिबाट मालपोत कार्यालय, धादिंग घेराउ तथा तालाबन्दी गर्ने निर्णय भएको छ । माग पूरा नभएसम्म तालाबन्दी जारी रहन्छ । यो अनिश्चित्कालिन आन्दोलन नै हो ।’–संघर्ष समितिका संयोजक इश्वरीबहादुर लम्सालले भने ।

यस्तै, श्री ५ को वायुगुठीबाट पीडितसमेत रहेका पत्रकार ऋषि धमलाले पनि अब आन्दोलन छेडिएको भन्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे । उनले सो क्रममा समस्या समाधानको लागि कानूनी उपचार पनि खोजिनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘यसका कानूनी उपचार पनि खोजौं हामीविरुद्ध किर्ते जालसाँझी भएको छ । कर्मचारीको तर्फबाट जालसाँझी भएको छ। सम्पूर्ण जनता उपस्थिति भएर समस्या समाधानको लागि आन्दोलन थालिनुपर्छ । गुठीबाट जनतालाई मुक्ति दिलाएरै छोड्नुपर्छ । मुलुकमा गणतन्त्र आएको १५ वर्ष बितिसक्यो, अझैपनि देशमा राजसंस्थाको झल्को दिईएको छ । अब यस्ता समाधानको लागि नयाँ ऐन तथा कानून बनाउनुपर्यो ।’

कार्यक्रममा तिलक थापा मगर, सरला धमला, ईश्वरी बहादुर लम्साल, विष्णु बोहरा र नारायण धमलालगायतले बोलेका थिए । उनीहरुले संघर्ष समितिको संघर्षका कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖