• Friday 16th of October 2026

युवक हत्या प्रकरण : ५ महिनापछि सहायक प्रहरी हवल्दार पक्राउ


  • धनकुटा खबर
  • .

२८ माघ, धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका-३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ का महेश चौधरी र चेतराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डांगीले बताए । पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दारसमेत हुन् ।

उनका अनुसार उनीहरुलाई केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए ।रानाको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना त्यसपछि कहिलेकाही मात्र घर आउने गरेका थिए ।

१८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा श्रृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका उनी दशैं मनाउन घर फर्किने कुरा थियो । तर, त्यसको १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जंगलमा मृत भेटिएको खबर परिवारले पाएको थियो ।

२० असोजदेखि परिवारसँग सम्पर्क नभएपछि राजकुमारको परिवारले नातागोतासँग उनीबारे सोधीखोजी गरेका थिए ।कृष्णपुर नगरपालिका-३ को देखतभूली बस्ने राजकुमारकी दिदी रजनी रानाले दाजु नाता पर्ने राजेश रानाबाट राजकुमार प्रहरीको थुनामा रहेको सूचना पाएकी थिइन् ।

राजेशले कृष्णपुर नगरपालिकाकै चेतराज भण्डारीले भनेको भन्दै रजनीलाई राजकुमार पक्राउ परेको बताएका थिए । सो क्रममा भण्डारीले राजकुमारलाई नेपाल प्रहरीको घुमुवा (सादा पोशाकका प्रहरी) ले गुलरियाको जंगलमा रहेको नर्सरीमा लखेटिरहेको अवस्थामा देखेको बताएको अडियो समेत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖