• Friday 16th of October 2026

साठ्ठीसाले लेखा अधिकृतहरुको नागार्जुनमा रातभरी मदिरा पार्टी


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ माघ । निजामती बृत्तमा साठ्ठीसाले लेखा अधिकृतहरु भनेर चिनिने कर्मचारीहरुको छुट्टै परिचय छ । विशेष गरी २०६० सालमा लेखा अधिकृतको लोक सेवा पास हुनेहरुले आफ्नो एउटा समूह बनाएका थिए । अहिले त्यही समूह सबैतिर हावी हुँदै गएको चर्चा छ । अर्थ मन्त्रालयका रितेश शाक्यदेखि कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, भैरहवा भन्सारका नारद गौतम, राजश्व अनुसन्धान विभागका ईन्द्र गौतमसम्म यही समूहका कर्मचारीहरु हुन् ।

कुनै एक समयमा राजश्वका २२ भाई भनेजस्तै लेखा समूह कब्जा जमाएर बसेका यस समूहका ८ भाईलाई साठ्ठीसाले डन लेखा उपसचिव भनेर चिनिन्छ । आफ्नो ब्याचभन्दा अरुलाई कर्मचारी नै नदेख्ने यी कर्मचारीहरु राम्रा भनिएका कमाई हुने अड्डा, विभिन्न विकास आयोजनालगायत कमिशन आउने अड्डामा पालो–पालो गरेर बस्ने अनि फेरि महालेखा नियन्त्रक कार्यालयमा सरुवा हुने र सो कार्यालयका पनि प्रशासन, आन्तरिक प्रशासन जस्ता शक्तिशाली शाखाहरु हत्याउने र पुनः पालो मिलाएर अरु राम्रा अड्डाहरुमा जाने चक्र चलेको निकै वर्ष ब्यतित भईसकेको छ ।

हाल अर्थ मन्त्रालयका ज्ञानेन्द्रराज ओजा, स्वास्थ्य मन्त्रालयका गोपीचन्द्र भण्डारी, महालेखा नियन्त्रक कार्यालयका निरज केसी, दिनेश रेग्मी, मुनकुमार केसी, सडक विभागबाट हालै फर्किएका प्रकाश पुडासैनी, सडक विभागका रविन कोईराला र स्वास्थ्य सेवा विभागका भुवन काफ्ले यी डन आठ भाईभित्र पर्दछन् ।

पुडासैनी नामुद शेयर कारोबारी हुन् भने अरु बाँकी मध्ये केही उनका पार्टनरको पनि शेयर धन्दा राम्रै चलेको चर्चा छ । भूकम्प पश्चात क्षति भएका संरचनाहरुका निर्माण गर्ने केन्द्रीय आयोजना कार्यान्वयन ईकाईमा बसेका भूवन काफ्ले मलेनिकाको क।प्र।शाखा हुँदै सडक विभाग र अहिले स्वास्थ्य सेवा विभागमा कार्यरत छन् ।

त्यसपछि मलेनिकाको आ.प्र.शाखा हुँदै क.प्र.शाखामा गएपश्चात दिनेश रेग्मी सडक विभाग गए । विभिन्न सिँचाई कार्यालय लगायत राम्रा कार्यालयहरुमा बाजी मारेका प्रकाश पुडासैनी मलेनिकाको क.प्र.शाखामा गए र त्यसपछि सडक विभाग गए । अब पालो रविन कोईरालाको । उनी पशु सेवा विभाग, रानीजमरा सिँचाई आयोजना, काठमाडौं खानेपानी निर्देशनालय हुँदै मलेनिकाको क.प्र।. शाखामा आएर उनले सडक विभाग पड्काए ।

केन्द्रीय आयोजना कार्यान्वयन ईकाईमा भुवन काफ्ले, ज्ञानेन्द्रराज ओझा, निरज केसी पालो–पालो गरेर बसेका छन् । अहिले मलेनिकाको कर्मचारी प्रशासन शाखामा उनै निरज केसी पुगेका छन्। मेलम्ची, रेल विभागलगायत विभिन्न आकर्षक कार्यालयमा जागिर खाई सकेका केसी अब सडक विभाग जाने पालोमा छन् । यी आठै जनाका लेखा अधिकृत हुँदा देखिको उपसचिव हुँदासम्मको ईतिहास हेर्ने हो भने कमाई हुने आकर्षक अड्डाहरु सडक, सिँचाई, खानेपानी लगायत विभिन्न आर्कषक आयोजनाहरुमा मात्रै बसेको रेकर्ड देखिन्छ ।

लेखाको उपसचिवलाई वर्षकै ३ करोडभन्दा बढी कमिशन आउने भनेर चर्चामा रहेको सडक विभागमा प्रकाश पुडासैनी, दिनेश रेग्मी, भेष भूर्तेल, रविन कोईराला र अव जाने लाईनमा निरज केसी छन् । विदेश पोष्टिङ्ग पाईने परराष्ट्रमा समेत यही साठ्ठीसालेहरुको एकछत्र हालिमुहाली छ । गायत्री खनाल, यदूनाथ भट्टराई र भेष भूर्तेल परराष्ट्र जानेमा पर्छन । अब पनि यही ब्याचले आफ्नामध्ये कसलाई लाने भनेर मिलाई रहेको छ ।

एउटा समूहका सीमित कर्मचारीहरुले कसरी एउटा संस्थामा सिण्डिकेट चलाउन सक्छन् भन्ने एउटा सानो उदाहरण हो यो । उनीहरुले जागिरलाई कमिशन जम्मा गर्ने भन्दा अर्को कुनै तरिकाले नबुझेको आरोप छ । आफ्नो साथी सर्कलबीचमा मात्र आकर्षक भनाउँदा आयोजना बाँडफाँड गर्ने र अकूत सम्पत्ति जम्मा गर्ने धन्दामा उनीहरु धेरै वर्षदेखि लगातार लागि रहेको आरोप लाग्दै आएको छ । यस सन्दर्भमा महालेखा नियन्त्रक कार्यालयमा कार्यरत उपमहालेखा नियन्त्रकले नाम नबताउने शर्तमा भने, ‘यी साठ्ठीसालेहरुको दादागिरी र दलाली खपिनसक्नु छ । सडक विभागदेखि आर्कषक आयोजनाहरु सबैमा यिनैको चकचकी छ, कति चाहिएको हो ?’

आफ्नो ब्याचभन्दा अरुलाई उनीहरुले कर्मचारीको रुपमा नै देखेका छैनन् भन्दै उनी आक्रोश व्यक्त गर्छन्। उनले अघि थपे, ‘अख्तियारजस्ता निकायहरुको समेत आँखा लाग्दैन की खै । मलेनिकाको क.प्र. देखि आ.प्र.सम्म पनि यिनैलाई चाहिने । हामी त बेकारमा यो लेखा समूहमा छिरिएछ । यो गिरोहलाई कसले छुने ? हाकिमहरुलाई समेत यिनले नै प्रभाव पार्छन् ।’

रविन कोईरालाले कर्मचारी प्रशासन शाखामा हुँदा आफ्ना ब्याचबाहेकका आफूलाई मन नपर्ने कर्मचारीहरुलाई छानिछानी पेलेर सरुवा गर्न हाकिमहरुलाई उक्साउने गरेका थिए । ‘यिनको अत्याचार र साठ्ठीसालेहरुका एकाधिकार र दबदबा पनि त एक दिन अन्त्य होला त्यही कुरेर बसेका छौं ।’ एक लेखा उपसचिवले असन्तुष्टि व्यक्त गर्दै भने, ‘सबै राम्रा कार्यालय, आयोजना लगायत मलेनिकाका शाखामा समेत एकै ब्याचीले कब्जा जमाएको हाकिमहरुले पनि त हेरे हुने हो । तर खै हेर्दैनन् ।’

अधिकृत भएको वर्षगाँठमा बर्षैपिच्चे यो समूहले विभिन्न ब्राण्डेड तारे होटलमा कार्याक्रम आयोजना गर्ने गरेको छ । यो वर्ष पनि हिजो नागर्जुनको होटल मोनालिसामा रातभर साठ्ठीसाले समूहका करिब ३० भन्दा बढी कर्मचारीहरुको राम्रै जमघट थियो । मदिराको खोलो बगेको त्यो कार्यक्रममा नाचगानदेखि खेलबाँडसम्मका कार्याक्रमहरु भएका थिए । पैसा कमाउने होडबाजीमा लागेको यो समूहका केही कर्मचारीबीच आपसी मनमुटावसमेत भएको सो कार्यक्रममा सहभागी एक जना कर्मचारीले बताए । समूहका सबै कर्मचारीहरु होटलबाट विहान ब्रेकफाष्ट गरी बाहिरीए ।

बेलुका आउँदा धेरैजसो सरकारी गाडीमा आएका र बिहान पनि लिनलाई केही सरकारी गाडीहरु पुगेका थिए । एकातिर कर्मचारीहरुको दैनिक खर्च धान्न पुग्ने गरी तलबभत्ता छैन भन्ने गुनासो छ भने अर्कोतर्फ कमिशन, घुसखोरी र भ्रष्टाचारमा रमाउने कर्मचारीहरुलाई तारे होटलमा मदिरा पार्टी गरी रात बिताउन कुनै समस्या छैन । यसतर्फ सम्बन्धित सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ ।-reportersnepal

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖