• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

श्रीवास कृष्णदास ब्रह्मचारीको नक्कली पिएचडी!


  • धनकुटा खबर
  • .

सुवर्ण सेढाईंले आफूले पिएचडी गरेको भन्दै सामाजिक सञ्जालमा राखेका फोटाहरू।सुवर्ण सेढाईंले आफूले पिएचडी गरेको भन्दै सामाजिक सञ्जालमा राखेका फोटाहरू।

गत दसैंको कुरा हो। अस्ट्रेलियाको मेलबर्नमा नेपाली बहुसांस्कृतिक केन्द्र तथा मन्दिर बनाउन नवाह ज्ञान महायज्ञ, भजन कीर्तन र झाँकी आयोजना गरिएको थियो।

यसैबीच एउटा खबर सुनेँ — धादिङस्थित नरसिंहधामका पीठाधीश श्रीवास कृष्णदास ब्रह्मचारी सुवर्ण सेढाईंंले अस्ट्रेलियाकै वुलनगङ युर्निभर्सिटीबाट भौतिकशास्त्रमा पिएचडी गर्नुभएको छ।

उहाँले प्रमाणपत्र बोकेर खिचेका फोटा पनि सामाजिक सञ्जालमा देखिए।
यो समाचार सुनेर मलाई साँच्चै नै गर्व लाग्यो। सनातन धर्म, हिन्दु धर्ममा विश्वास राख्नेहरूलाई गौरवान्वित महसुस गराउने कुरा जस्तो लाग्यो। त्यसैले उहाँलाई अस्ट्रेलियाको सनातन धर्मका संस्थाहरूले पनि सम्मान गर्नुपर्छ भन्ने लाग्यो। नेपालमा कुनै एक धर्मगुरूले भौतिकशास्त्रमा पिएचडी गरेको सम्भवतः पहिलो थियो। कुनै दिन उहाँसँग भेटेर अन्तर्वार्ता लिने सोच पनि बनाउँदै थिएँ।
भनिन्छ नि — मनले केही चाहे त्यो पूरा हुन्छ!
मलाई त्यही भयो!

सन् २०२३, अक्टोबर १५ मा निराजन दाइले धादिङ समाज भिक्टोरियाको पेजमा मेसेज गर्नुभयो। मजस्तै उहाँ पनि श्रीवास कृष्णदासको प्रगति र उपलब्धिप्रति गौरवान्तित हुनुहुन्थ्यो।

त्यो बेला धादिङ नरसिंहधाम पीठाधीशका अध्यक्ष मेलबर्नमै हुनुहुन्थ्यो। श्रीवास कृष्णदास पनि नेपाल फर्किनुभन्दा अगाडि एकपटक मेलबर्न आउने हुनुभएछ। यही मौकामा निराजन दाइले आफू अध्यक्ष रहेको एएनपिएल संस्था र धादिङ समाज भिक्टोरिया मिलेर विज्ञान र धर्मको ‘फ्युजन’ सम्बन्धित एउटा कार्यक्रम गरौं भन्ने कुरा निकाल्नुभयो।

म लगायत अरू धेरै जनाले समर्थन जनायौं र उत्साहित भयौं।
कार्यक्रमको सहजकर्ता म हुने भएँ।
श्रीवास कृष्णदासका बारेमा अझ थप जानकारी लिन उहाँलाई मैले अस्ट्रेलियाको नम्बरमा फोन गरेँ। थप जानकारी लिएँ। उहाँले आफ्नो छोटो प्रोफाइल मलाई मेसेज गरेर पठाउनु पनि भयो।
योजना बमोजिम २५ अक्टोबरमा एउटा पोस्टर निकालेर २७ अक्टोबरको साँझ ५ बजेदेखि ७ बजेसम्म एएनएमसी प्रांगणमा कार्यक्रम हुँदैछ भनेर जानकारी दियौं।

मेरो र उहाँको फोटोसहितको पोस्टर मैले पनि मेरो फेसबुकमा राखेँ र कार्यक्रमको प्रचार गरेँ।
फेसबुकमा मैले लेखेँ — धर्म के हो, विज्ञान के हो, हिन्दु धर्ममा उल्लेख हुने किम्बदन्तीहरू पुष्टि गर्न किन विज्ञानको सहायता लिइन्छ, के सनातन परम्पराको ज्ञान नै विज्ञान हो, के वेद नै विज्ञानको जननी हो, धर्म’ र ‘विज्ञान’ बीचको अन्तरसम्बन्ध कस्तो हुन्छ वा हुनुपर्ने हो जस्ता सन्दर्भमा हामी डा. सुवर्ण सेढाईं (सन्त श्रीवास कृष्णदास ब्रह्मचारी) सँग भोलि अन्तर्क्रिया कार्यक्रम गर्दैछौं। उहाँले भर्खरै भौतिकशास्त्रमा अस्ट्रेलियाको वुलनगङ विश्वविद्यालयबाट विधावारिधि गर्नुभएको छ।
धेरै जनाले सो पोस्टमा कमेन्ट गरेर र मलाई फोनै गरेर कार्यक्रमको लाइभ पनि गर्न आग्रह गर्नुभयो।

हामीले त्यहीअनुसार तयारी गर्‍यौं।
म खुसी थिएँ — योग, साधना गरेर निपूर्ण हुनुभएका र त्यसमाथि भौतिकशास्त्रमा पिएचडी गर्नुभएका श्रीवास कृष्णदासलाई यसरी प्रत्यक्ष देख्न पाएँ!
समान भावले उहाँ त्यहाँ आउँदा उहाँप्रति झन् इज्जत बढ्यो।
कार्यक्रम ढिलो सुरू भयो। प्राविधिक समस्या भएको थियो। तर पनि उहाँ केही विचलित हुनु भएन। धैर्य धारण गरेर बसेको देख्दा झन् खुसी लाग्यो। धर्म र विज्ञानबारे बहस गर्ने उहाँ अब नेपालबाट एउटा अब्ब्ल प्रवक्ताका रूपमा चिनिन सक्नुहुन्छ जस्तो पनि लाग्यो। मैले उहाँमा भारतीय दार्शनिक, लेखक र आध्यात्मिक गुरू जे कृष्णामूर्ति कल्पना गरेकी थिएँ।
कार्यक्रम सुरू भयो, लाइभ गर्‍यौं। विज्ञानका प्रश्नहरू आए, धर्मका कुराहरू भए।

दर्शकदीर्घा र लाइभमा पनि प्रश्नहरू आइरहेका थिए।
जिज्ञासाहरू धेरै थिए तर समय कम थियो।
त्यसैले कार्यक्रम चाँडो सक्काउनतिर लाग्यौं।
कार्यक्रम सकेपछि त्यहाँ उपस्थित दर्शकले ‘चित्तबुझ्दो उत्तर अझै आएन, विज्ञानको कुरा त आउँदै आएन, उहाँले त्यति प्रस्ट्याउन सक्नुभएन’ भने।
‘जुन आशा गरेर कार्यक्रममा आएका थियौं, सोचेजस्तो भएन’ पनि भने।
मलाई लाग्यो, यस्तो कार्यक्रममा यस्ता कुरा आउनु स्वाभाविक हो।
त्यसैले उहाँहरूलाई मैले सकारात्मक जबाफ दिँदै भनेँ, ‘कार्यक्रम ढिला सुरू भएको र समय पनि कम भएकाले सबै कुरा विस्तारमा समेट्न नसकिएको हो। अर्कोपटक अझ राम्रोसँग कार्यक्रम गरौंला।’

मलाई लाग्यो, यो कथा यहीँ टुंगियो, तर भर्खर सुरू हुँदै रहेछ!
केही दिनपछि मलाई मेलबर्नबाट रञ्जु दिदीको फोन आयो।
दिदीले एक्कासि भन्नुभयो, ‘बहिनी, त्यो धर्मगुरूको पिएचडी त नक्कली रहेछ त! झन् बहिनीले त्यस्तो सर्पोट गरेको गुरू, त्यसरी कार्यक्रम चलाएको! हामी सबैलाई उल्लू बनाएछ त्यो गुरूले!’
म झसंगै भएँ, दिदीलाई सोधेँ, ‘हो र, कसरी थाहा पाउनुभयो?’
‘एक जना भाइले पत्ता लगाउनुभएको रहेछ। उहाँसँग सबै प्रमाण छ रे। तपाईंको नम्बर दिन्छु उहाँलाई है। अनि उहाँले तपाईंलाई सबै भन्नुहुन्छ,’ दिदीले भन्नुभयो।

केही दिनमै रञ्जु दिदीले भन्नुभएको भाइको फोन आयो।
फोन गर्ने भाइले मलाई राम्ररी चिन्नुहुने रहेछ। कार्यक्रमहरूमा एकाधपटक भेट पनि भएको रहेछ। उहाँ अस्ट्रेलियाको ठूलो पब्लिक रिसर्च संस्थामा काम गर्नु हुँदो रहेछ। आफैं भौतिकशास्त्रमा पिएचडी गरेको वैज्ञानिक पनि हुनुहुन्छ। यो लेखमा उहाँको गोपनीयताको कदर गर्दै नाम उल्लेख गरेकी छैन।

उहाँले मेलबर्नमा भएको कार्यक्रमको पोस्टर देखेर सुवर्ण सेढाईंबारे थप जानकारी लिनुभएछ। पिएचडीबारे पनि थप जानकारी खोज्नुभएछ। तर सुवर्ण सेढाईंबारे कतै पनि केही भेट्नुभएनछ। त्यसपछि उहाँलाई शंका भएछ।
लाइभ हेरेर सुवर्ण सेढाईंले दिएको उत्तर सुनेपछि उहाँको शंका झन् बढेछ। उहाँले वुलनगङ युनिभर्सिर्टीको ग्र्याजुएट रिसर्च स्कुलका डाइरेक्टरलाई इमेल गर्नुभएछ। डाइरेक्टरले सुवर्ण सेढाईंको कुनै रेकर्ड छैन भनेर लेखेर पठाए। त्यसपछि उहाँको शंका बलियो भयो।

त्यो इमेल उहाँले मलाई पठाउनुभयो। इमेलमै सुवर्ण सेढाईंको प्रमाणपत्र आधिकारिक होइन भनेर प्रस्ट रूपमा लेखिएकको छ।
मैले आफैं पनि यसबारे खोजबिन गर्ने निधो गरेँ।
सुरूमा वुलनगङ युनिभर्सिर्टीबाट डाइरेक्टरका नामबाट आएको इमेल सक्कली हो कि होइन भन्ने खोजेँ। आधिकारिक भएको पाएँ। त्यसपछि डाइरेक्टरकै बारेमा थप जानकारी लिएँ। डाइरेक्टरको प्रोफाइल पनि सक्कली पाएँ।

मैले डाइरेक्टरलाई आफैं पनि एउटा इमेल लेखेँ। एक-दुई दिनमै जबाफ आयो। इमेलमा युर्निभर्सिटीले गोपनीयता र नियमका कारण केही सूचना दिन नमिल्ने लखिएको थियो। तर वेबसाइटमा गएर ग्र्याजुसन लिस्टमा त्यहाँ पढेका विद्यार्थीबारे हेर्न सक्नुहुन्छ भनिएको थियो।
वेबसाइटमा सुवर्ण सेढाईंबारे केही देखिएन। डाइरेक्टर आफैंले पनि खोज्दा केही नभेटिएको भनेका छन्।
श्रीवास कृष्णदास ब्रह्मचारी सुवर्ण सेढाईंको नाम र पिएचडी रिसर्च कता गयो त भन्ने भयो।

त्यसपछि उहाँको पिएचडी थेसिस हेर्न वुलनगङ युनिभर्सिटीको लाइब्रेरी पेजमा गएँ। त्यहाँ पनि भेटिएन।
उहाँको नाम गुगल गर्दा, गुगल स्कलर, अर्किड, रिसर्च गेटमा कतै भेटिएन।
मैले फेरि पिएचडी गरिसकेका केही चिनजानका व्यक्तिहरूलाई सम्पर्क गरेँ। उहाँहरूले पनि खोज्नुभयो। तर सुवर्ण सेढाईंबारे केही नभेटेपछि सबैले उहाँले देखाएको प्रमाणपत्र नक्कली हो भन्नुभयो। वुलनगङ युर्निभर्सिटीबाट पहिले पनि अरूले नक्कली प्रमाणपत्र (सर्टिफिकेट) निकालेको इतिहास रहेछ। त्यसबारे गुगलमा लेख र समाचार पनि भेटेँ।
मैले यहाँ धेरै प्राज्ञहरूसँग यसबारे थप खोज गर्न मद्दत मागेकी थिएँ। उहाँहरू सबैबाट एउटै उत्तर आयो — सुवर्ण सेढाईंको प्रमाणपत्र नक्कली हो।

यसबारे सार्वजनिक गर्नुपर्ने सुझाव पनि उहाँहरूले दिनुभयो।
यो मेरा लागि ठूलो कुरा थियो। यत्तिकै लेख्ने कुरा भएन।
मैले सुवर्ण सेढाईंलाई नै सोध्ने निधो गरेँ। उहाँको नेपालको नम्बर पत्ता लगाएर फोन गरेँ।
मैले उहाँलाई वुलनगङ युनिभर्सिर्टीका डाइरेक्टरको इमेलदेखि उहाँको जर्नल, नाम कतै नभेटिएको र तपाईंको पिएचडी गलत हुने आधार धेरै रहेको भनेँ।
सबै कुरा भनेपछि अन्तिममा उहाँलाई मौका दिँदै भनेँ, ‘हामीलाई गलत सावित गरिदिनुस् र प्रमाण दिनुस्।’

मेरो कुरा सुनिसकेपछि उहाँले भन्नुभयो, ‘यो ममाथि षड्यन्त्र हो। मैले हर्क साम्पाङको खुलेर विरोध गरेपछि मान्छे मेरा पछाडि लागेका छन्।’
मैले फेरि सोधेँ, ‘के तपाईं पाँच वर्ष अस्ट्रेलिया बसेर पिएचडी गर्नुभएको हो?’
उहाँले ‘होइन’ भन्नुभयो।
‘त्यसो भए पिएचडी कसरी गर्नुभयो,’ मैले सोधेँ।
उहाँले भन्नुभयो, ‘अनलाइनबाट पढेँ।’
मैले थप सोधेँ, ‘भौतिकशास्त्र जस्तो गहन विषयमा पनि अनलाइनबाट पिएचडी कसरी? तपाईंको प्रोफेसर को हो?’

उहाँले भन्नुभयो, ‘एक जना भारतीय हुनुहुन्छ।’
मैले ती भारतीयको नम्बर मागेँ। सुवर्ण सेढाईंले भारतीयलाई नसोधी नम्बर दिन नमिल्ने भन्नुभयो।
मैले यसमा ठिकै छ भनेँ।
अनि सुवर्ण सेढाईंले आफू दस दिनका लागि वृन्दावन जान लागेको र फर्केर आएपछि सबै कागजपत्र दिने भन्नुभयो।
कुरा हो २ डिसेम्बरको।
बीचबीचमा मैले उहाँलाई सम्पर्क गरिरहेँ।
मलाई थप मानिसहरूले तपाईंबारे प्रमाण दिइरहेका छन् भनेर सूचना पनि दिइरहेँ। उहाँ आफूलाई सही सावित र हामीलाई गलत सावित गर्न कत्ति पनि हतारिनुभएन।

त्यसपछि निरन्तर सम्पर्क गरिरहेँ।
१७ डिसेम्बरमा उहाँले भन्नुभयो — प्रोफेसरलाई इमेल गरेको छु।
पछि फेरि इमेलको जबाफ प्रोफेसरबाट त इमेलको जबाफ आएन, स्टुडेन्ट म्यानेजमेन्टबाट आएको छ भन्नुभयो। प्रमाणपत्र प्रमाणीकरण म्यानेजमेन्टले गरिदिएको भन्नुभयो।
मैले त्यो इमेल मलाई पठाउन भनेँ तर उहाँले पठाउनुभएन।
मैले फेरि उहाँलाई फोन गरेँ। उहाँले ‘डकुमेन्ट भेरिफाइ’ गर्न लागेको छु मात्र भन्नुभयो।
बारम्बार मेरो फोन र मेसेजपछि उहाँले मलाई केही प्रोफेसरका नाम पठाउनुभयो।
रातभरि नसुती मैले ती नाम गुगलमा खोजेँ। तर सुवर्ण सेढाईंलाई सत्य प्रमाणित गर्ने आधारहरू केही भेटिनँ।
उहाँलाई अब म तपाईंको विषयमा लेख्दैछु भनेर सूचना दिएँ र यो लेख तयार गरेँ।

अब केही प्रश्नहरू छन् —
एक, उहाँले देखाएको सर्टिफिकेटमा सिटिजनसिप लेखिएको छ। उहाँ अस्ट्रेलियन हो भने अस्ट्रेलिया आउन किन भिसा लगाउनुभयो? यदि उहाँ अस्ट्रेलियाको नागरिक हो भने खुलाउनुपर्‍यो।
दुई, उहाँको न डिजरटेसन भेटिन्छ, न जर्नल आर्टिकल छ, न ग्र्याजुएसन लिस्टमा नाम भेटिन्छ, न गुगलमा केही भेटिन्छ। भौतिकशास्त्र जस्तो विषयमा डिजरटेसन कतै प्रकाशन नगरी, कुनै ब्लग वा आर्टिकल नलेखी, फाइल मात्रै टक्रक्क बुझाएर पिएचडी सकिन्छ?

तीन, उहाँलाई आफ्नो प्रोफेसरको नाम दिन कि यति धेरै समय लागेको? दिँदा पनि ती प्रोफेसरबारे धेरै जानकारी किन भेटिएन? पिएचडी प्रमाणपत्र पाइसकेपछि स्टुडेन्ट म्यानेजमेन्टले किन प्रमाणीकरण गर्नुपर्‍यो?
चार, सुवर्ण सेढाईंले मलाई ‘तपाईंको विश्वासका लागि म मेरो रिसर्च पेपर तपाईंलाई मात्रै पठाउँछु’ भन्नुभएको थियो। यतिका समय बित्दा पनि त्यो पेपर किन पठाउन सक्नुभएन?
पाँच, सुवर्ण सेढाईंले पिचएडी गरेको भन्दै सर्टिफिकेटसहित फेसबुक र सामाजिक सञ्जालहरूमा हालिएका सबै फोटाहरू अहिले किन हटाइएको?-निरू त्रिपाठी/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖