• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

साउदीमा नेपालीको रक्सी धन्दा, रक्सी सेवन र बनाएर बेचेको आरोपमा सयौँ नेपालीहरु पुगे जेलमा


  • धनकुटा खबर
  • .

काठमाडौं । साउदी अरबमा रक्सी बनाएर बेचेको आरोपमा साढे ४ सयभन्दा बढी नेपालीहरू जेलमा परेका छन् । मदिरा सेवन र बनाएर विक्री गरेको जस्ता आरोपमा करिब ४८० को संख्यामा नेपाली श्रमिकहरू जेल परेका हुन् ।

साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपालीहरू रहेको बताउने गरिन्छ । रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिवले बढी आम्दानी हुने लोभले नेपालीहरू मदिरा सेवन र बेचबिखनसँग सम्बन्धित कसुरमा पर्ने गरेको बताए । नेपाली श्रम अधिकारीहरूले साउदी अरबसहितका श्रम गन्तव्य प्रस्थान गर्नुअघि दिइने अभिमुखीकरण कार्यक्रमहरूमा ती देशमा गर्न नहुने गतिविधिहरूबारे जानकारी गराउने गरिएको भन्दै यसलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

रियादस्थित नेपाली राजदूतावासले साउदी अरबको जेल प्रशासनले उपलब्ध गराएको आँकडालाई उद्धृत गर्दै ४८० जना जति नेपाली उक्त खाडी देशका जेलहरूमा रहेको जनाएको छ । वास्तविक सङ्ख्या त्यो भन्दा बढी हुनसक्ने उल्लेख गर्दै राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीले ८० देखि ८५ प्रतिशत नेपालीहरू मदिरा सेवन, ‍ओसारपसार र उत्पादनको कसुरमा जेलमा रहेको बताए । उनी भन्छन्, ‘घरेलु मदिरा उत्पादन, विक्री वितरण, ओसारपसार र सेवन गरेको आरोप जेलमा रहेको धेरैलाई लागेको छ । सबैलाई साउदी अरबमा मदिरा गैरकानुनी हो भन्ने थाहा छ । तर थाहा हुँदा हुँदै पनि पक्राउ परिएन भने छोटो समयमा टन्न पैसा कमाई हुन्छ भन्ने लोभले यो निरुत्साहित भइरहेको छैन ।’

सात दशकदेखि मदिरामाथि प्रतिबन्ध लगाएको साउदी अरबमा मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउने देखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय तोकिएको छ । ज्यानुअरीको अन्तिम साता साउदी अरबले गैर मुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्ने अनुमति दिन लागेको घोषणा गरेको थियो । कैयौँ नेपालीहरूलाई मदिरा उत्पादनसहितको कसुरमा सजाय दिइएको र कैयौँमा सजाय सुनाउन बाँकी नै रहेको बताइन्छ ।

त्यस्तो कसुरमा केही महिनादेखि सात वर्षसम्मको सजाय सुनाइएको पाएको अभिलेखमा उल्लेख छ । पक्राउ परेका नेपालीहरूमाथि बेचबिखनको लागि मदिराको उत्पादन गर्ने गरेको आरोप लगाइएको छ । तर मदिराबारे त्यति कठोर नीति अँगालेको साउदी अरबमा नेपाली श्रमिकहरूले कसरी मदिरा उत्पादन गर्न सकिरहेका भन्ने प्रश्न कैयौँले सोध्ने गरेको पाइन्छ ।

कम्पनीमा काम गर्दा प्राप्त हुने न्यूनतम तलबभन्दा धेरै आम्दानी हुने भएकाले कैयौँ नेपालीहरू पक्राउ पर्दा समेत रक्सी उत्पादन गर्ने वा बेचबिखन गर्न निरुत्साहित गर्न नसकिएको नेपाली राजदूतावासका सूचना अधिकारीसमेत रहेका गिरीको भनाई छ । ‘वहाँहरूले ठ्याक्कै यहीँ गरेर ल्याएको हामीलाई भन्नुहुन्न। तर हामीले सुने अनुसार नेपालमा घरेलु रक्सी उत्पादन गर्ने मर्चा भन्ने जुन हुन्छ,’ उनले भने, ‘त्यसलाई वहाँहरूले पिठो लगायतमा राखेर ल्याउनुहुन्छ । यहीँ पाइने अन्न गहुँ, चामल अनि खजुर पनि राखेर रक्सी उत्पादन गर्नुहुन्छ भन्ने हामीले सुनेका छौँ ।’ –बीबीसी नेपालीको सहयोगमा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖